राजनीति


सांसद लाभलाई पदबाट हटाउने जनमत पार्टीको अनुरोध सभामुखले गरे अस्वीकार

सांसद लाभलाई पदबाट हटाउने जनमत पार्टीको अनुरोध सभामुखले गरे अस्वीकार

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १४:५८, काठमाडौँ

सभामुख देवराज घिमिरेले सीके राउत नेतृत्वको जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन अस्वीकार गरेका छन्। 

लाभलाई सांसद पदबाट हटाउन जनमत पार्टीले गरेको अनुरोध सभामुख घिमिरेले नकारेका हुन्।

जनमत पार्टीले सांसद लाभलाई राजनैतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८ लाई टेकी दलबाट निष्काशन गरी संघीय संसदको सदस्यको पद नरहने गरी सूचना प्रकाशन गर्न निवेदन गरेकोमा निजले पद नै जाने प्रकृतिको कुनै काम गरेको नदेखिएको सभामुखले उल्लेख गरेका छन्।

साथै दलबाट निष्काशन गरी संघीय संसदको सदस्यको पद नरहने प्रकृतिको अन्य कुनै कानुनले परिभाषित गरेको कसुर गरेको भन्ने समेत नदेखिएको, कारबाहीको सम्बन्धमा तयार गरिएका कागजपत्रहरु विश्वसनीय नदेखिएकोले थप कारबाही अगाडि नबढाउने निर्णय सभामुखबाट भएको उनको सचिवालयले जनाएको छ। 

सभामुखको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो, ‘दलीय प्रणालीमा दलका नेता तथा कार्यकर्ताले आफ्नो दलको अनुशासन पालना गर्नु पर्नेमा कुनै द्विविधा छैन । तर, अनुशासनको नाममा कुनै सदस्यले स्पष्ट गल्ती गरेको नदेखिएको अवस्थामा पूर्वाग्रहपूर्ण तरिकाबाट कारबाही गर्ने र पदच्यूत गर्ने वातावरण सिर्जना भयो भने त्यसले लोकतन्त्रको मूल्य र मान्यतामा आघात पुऱ्याउँछ।’

जनमतका अध्यक्ष राउतले सांसद लाभले पार्टी फुटाउन छलफल अगाडि बढाएको, ठेकेदारसँग पैसा लिएको भन्ने आरोप लगाउँदै उनलाई सांसद पदबाट हटाउन माग गरेका थिए। 

राउतले लाभलाई सांसद पदबाट हटाउन माग गर्दै पटक पटक संसद सचिवालयलाई पत्र लेखेका थिए। तर सांसद लाभले भने आफूमाथिको आरोप अस्वीकार गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad