राजनीति


भारतीय सेना प्रमुखलाई नेपाली सेनाका महारथीको मानार्थ दर्जा, एक दुर्लभ परम्परा (हेर्नुहोस् दर्जन तस्बिरमा)

भारतीय सेना प्रमुखलाई नेपाली सेनाका महारथीको मानार्थ दर्जा, एक दुर्लभ परम्परा (हेर्नुहोस् दर्जन तस्बिरमा)

राष्ट्रपति रामचन्द्र पौडेल भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्जा प्रदान गर्दै शीतल निवासमा। तस्बिर सौजन्य : सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय


नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १९:४४, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई बिहीबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

समारोहमा राष्ट्रपति पौडेलले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्‍ग तथा प्रमाण-पत्र प्रदान गरेका थिए।

उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई, मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरू, राष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका सचिवहरू, नेपालका लागि भारतीय राजदूत र विभिन्न मित्रराष्ट्रका सैनिक सहचारीहरूको उपस्थिति थियो।

नेपाल र भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरतास्वरूप दशकौँदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको छ।

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रमपश्चात् राष्ट्रपतिसँग भारतीय स्थल सेनाध्यक्षले शिष्टाचार भेटघाटसमेत गरेका थिए।

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आजै बिहान टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्पगुच्छा चढाई वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, उनलाई जंगी अड्‍डामा सम्मान गारत अर्पण गरिएको थियो। उक्त अवसरमा द्विवेदीले जंगी अड्डा प्रांगणमा वृक्षरोपणसमेत गरेका थिए।

आजै दुवै देशका सेनाप्रमुखद्वय अशोकराज सिग्देल र उपेन्द्र द्विवेदीबीच शिष्टाचार भेटवार्ता भएको थियो। भेटवार्ताका क्रममा दुई देशका सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। सो अवसरमा एकअर्का देशका सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परालाई निरन्तरता दिने सम्बन्धमा समेत छलफल भएको थियो।

त्यस्तै, भारतीय सैनिक श्रीमती कल्याण संघकी अध्यक्ष एवं सेना प्रमुख द्विवेदीकी श्रीमती सुनिता द्विवेदी र सैनिक श्रीमती संघकी अध्यक्ष तथा नेपाली सेना प्रमुख सिग्देलकी श्रीमती निता क्षेत्री सिग्देलबीच भद्रकालीस्थित संघको कार्यालयमा भेटघाट भएको थियो। उक्त अवसरमा द्विवेदीलाई सैनिक श्रीमती संघले सञ्चालन गरेका विविध कल्याणकारी गतिविधिहरूका बारेमा जानकारी गराइएको थियो।

प्रधान सेनापति सिग्देलले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको सम्मानमा आज साँझ जंगी अड्‍डामा रात्रिभोज आयोजनाको कार्यक्रम छ ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad