राजनीति


भारतीय सेनाप्रमुखको नेपालमा भेटघाट सुरु, यस्तो छ भ्रमण तालिका

भारतीय सेनाप्रमुखको नेपालमा भेटघाट सुरु, यस्तो छ भ्रमण तालिका

तस्बिर : सरोज बैजु


नेपालखबर
मंसिर ५, २०८१ बुधबार १६:१३, काठमाडौँ

भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी ५ दिने नेपाल भ्रमणका लागि (२०–२४ नोभेम्बर २०२४) काठमाडौँ आइपुगेका छन्।

काठमाडौँ आएलगतै उनले भेटवार्ता सुरु गर्ने तालिका रहेको छ। सेनाध्यक्ष द्विवेदीले सुरुमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग कुराकानी गर्नेछन्।

त्यसपछि शशि भवनमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग अनौपचारिक छलफल हुनेछ।

बिहीबार सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मुख्यालयमा गार्ड अफ अनर दिइनेछ। त्यसपछि नेपाली सेनाका उच्च अधिकारीहरुसँग अन्तरक्रिया गर्नेछन्। जंगी अड्डामा हुने छलफलपछि उनी राष्ट्रपति भवन शितल निवासमा आयोजना हुने समारोहमा सहभागी हुनेछन्।

भारतीय सेना र नेपाली सेनाबीचको परम्पराअनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी दर्जाले सम्मान गर्ने कार्यक्रम छ।

सेनाध्यक्ष द्विवेदीले त्यसलगतै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन्। भेटवार्तामा नेपाल र भारतबीचको रक्षा साझेदारीलाई थप मजबुद बनाउने विषयमा छलफल हुनेछ।

बिहीबार साँझ उनी नेपाली सेनाका प्रधानसेनापतिले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्।

द्विवेदीले शुक्रबार नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीका विद्यार्थीहरूलाई सम्बोधन गर्नेछन्। दिउँसो द्विवेदीले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईलाई भेट्ने कार्यतालिका तय भएको छ।

शनिबार द्विवेदी पोखरामा भूतपूर्व सैनिकहरुको र्‍यालीमा सहभागी हुनेछन्। जहाँ उनले विभिन्न पुरस्कार प्राप्त गर्नेहरूलाई सम्मान गर्नेछन्।

त्यसक्रममा उनले नेपालमा ठूलो संख्यामा रहेका भारतीय सेनाका दिग्गजहरूसँग पनि अन्तरक्रिया गर्ने तय भएको छ। सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको पश्चिम पृतनालयको भ्रमण पनि गर्नेछन्।

नेपाली सेनाको पश्चिमी पृतनामा पृतनापतिको उपस्थितिमा त्यहाँको स्थितिका बारेमा ब्रिफिङ लिनेछन्।

सोही दिन साँझ, प्रधानसेनापतिले काठमाडौँमा विशिष्ट व्यक्तिहरूको लागि रात्रिभोजको आयोजना गर्नेछन्। उनी आइतबार भारत फर्कनेछन्।

सेनाध्यक्ष उपेन्द्र द्विवेदीको भ्रमणले नेपाल र भारतका सेनाबीचको सैन्य सहयोगलाई थप सुदृढ पार्ने र दुई राष्ट्रबीचको सहकार्यमा नयाँ विकल्प खोज्ने सेनाको विश्वास छ।

द्विवेदीको भ्रमण नेपाल र भारतबीचको घनिष्ठ सैन्य सहयोगलाई थप सुदृढ पार्न  महत्वपूर्ण कदम हुने भारतीय रक्षा मन्त्रालयले पनि विज्ञप्तिमार्फत विश्वास व्प्यक्त गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad