प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले ध्यानाकर्षण बुझाइएका छन्।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र लेबनानमाथि लगातार र बलपूर्वक हमला गरेकाले त्यसको विपक्षमा नेपाल सरकार अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुनुपर्ने आग्रह गरे।
ज्ञापनपत्रमा नेपालको तटस्थ परराष्ट्र नीतिको मान्यतामा परिवर्तन गर्न र अन्यायमा परेकाको पक्षमा स्पष्टरुपमा संयुक्त राष्ट्रसंघजस्ता मञ्चमा मत जाहेर माग गरिएको छ।
ज्ञापनपत्रमा हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी र इजरायलमा रहेका हजारौँ नेपाली युवाहरुको जीवन रक्षाका लागि युद्धकालभरी नेपाल ल्याउने कार्य गर्न पनि माग गरिएको छ।
प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्ति, मानव अधिकार र न्यायका पक्षमा रहने स्पष्ट गर्दै तटस्थता भनेको बलियाले कुटिरहने र कमजोरले सही रहने भन्ने नभएको बताउँदै ध्यानाकर्षणमा उठाइएका विषयको विपरीत सरकार नजाने स्पष्ट गरे।
‘हामी विश्व शान्तिका पक्षमा छौं, कुनै शक्तिविरुद्ध आफै लड्न जाँदैनौँ,’ ओलीले भने, ‘कुनै पनि सैन्य गठबन्धनमा रहँदैनौँ तर अन्याय सहेर बस्दैनौँ। हामी विश्वमा निरीह शान्ति होइन, न्यायपूर्ण शान्ति र मानवअधिकारको रक्षामा हुनेछौँ।’
भेटका अवसरमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, राष्ट्रिय जनमोर्चाका नेत्री दुुर्गा पौडेल, नेकपा (एकीकृत समाजवादी) का सचिव शेरबहादुर कुँवर, क्रान्तिकारी कम्युुनिष्ट पार्टीका वरिष्ठ नेता सिपी गजुरेल, जनता समाजवादी पार्टी नेपालका विदेश विभाग प्रमुख अर्जुन थापा, प्रगतिशील रुपान्तरण आन्दोलनका अभियन्ता श्याम श्रेष्ठलगायत सहभागी थिए।
Shares

प्रतिक्रिया