निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमाकायम भएका मतदानस्थल/केन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ।
आयोगको सोमबार बसेको बैठकले मतदान स्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपांगमैत्री बनाउन निर्देशन दिएको हो।
संघीय सरकार र प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधन, सभागृह तथा अतिथि गृह, सवारी साधन र अन्य विद्युतीय उपकरण मर्मत सम्भार गरी उपनिर्वाचनका लागि आवश्यकताअनुसार प्रयोग गर्न आयोगले आग्रह गरेको छ।
यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाइ निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए।
स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित कुनै संस्था वा निकाय वा सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधनको प्रयोगमा पूर्णतः रोक लगाउन निर्देशन दिइएको छ।
निर्वाचन प्रचारप्रसार सामग्री यथासम्भव समयमै मतदाता समक्ष पुर्याउने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ। उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटनलगायत कार्यहरू नगर्ने/नगराउने व्यवस्था मिलाउन आयोगले सूचित गरेको छ।रासस
Shares

प्रतिक्रिया