राजनीति


पूर्वसभामुख ढुंगानालाई राष्ट्रिय सम्मान दिइने, आज सार्वजनिक बिदा

पूर्वसभामुख ढुंगानालाई राष्ट्रिय सम्मान दिइने, आज सार्वजनिक बिदा

नेपालखबर
मंसिर ३, २०८१ सोमबार ९:४०, काठमाडौँ

प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानालाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय सरकारले गरेको छ। ढुंगानाको निधनको शोकमा सरकारले आज (साेमबार) सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनमा गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। सरकारले ढुंगानाका परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

ढुंगानालाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने र आज देशैभरी सार्वजनिक बिदा दिने निर्णय सरकारले को सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

‘पूर्वसभामुख ढुंगानाको सम्मानमा आज सार्वजनिक बिदा दिने र स्वदेश तथा विदेशस्थित सबै कार्यालयमा आज दिनभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ’, प्रवक्ता गुरुङले भने, ‘राजकीय सम्मान व्यवस्थापनको जिम्मेवारी गृहमन्त्रालयलाई दिइएको छ।’

कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा मध्यबानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

ढुंगानाको पार्थिव शरीर अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ढुंगानाको पार्थिव शरीर सानो गौचरणमा राख्ने तयारी छ। 

प्रधानमन्त्री ओली पनि सानो गौचरणमा हुने ढुंगानाको श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुनेछन्। स्वर्गीय ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन्। ढुंगानाको अन्त्येष्टि आजै दिउँसो पशुपति आर्यघाटमा गर्ने तयारी छ। 

सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाएका ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए। उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad