राजनीति


उपनिर्वाचन: उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

उपनिर्वाचन: उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

नेपालखबर
मंसिर ३, २०८१ सोमबार ७:२५, काठमाडौँ

यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। 

आयोगले सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय निर्धारण गरेको छ। आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर मंगलबार उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ। 

बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ। यही मंसिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा मनोनयन दर्ता भएको थियो। जसमध्ये ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्। तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएपछि उक्त पद रिक्त थियो। 

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी आइतबार ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

त्यसैगरी गाउँपालिका र नगरपालिकामा रिक्त वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ। कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिलाको उम्मेदवारी परेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad