ad ad

राजनीति


स्थानीय तहका ४० पदमा उपचुनाव, रिक्तमध्ये अधिकांश कांग्रेसले जितेका

अबको एक महिनाभित्र खाली भएका सिटमा पनि मंसिर १६ मै चुनाव
स्थानीय तहका ४० पदमा उपचुनाव, रिक्तमध्ये अधिकांश कांग्रेसले जितेका

रामकुमार डिसी
असोज १, २०८१ मंगलबार २१:३५, काठमाडौँ

स्थानीय तहमा रिक्त भएका पदमा नयाँ जनप्रतिनिधि ल्याउन सरकारले आउँदो मंसिर १६ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ।

निर्वाचन आयोगका अनुसार दुर्घटना, प्रकोप र रोगव्याधिलगायत कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४० पद खाली छन्।

जसमा जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी ४० पद रहेका छन्।

२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। स्थानीय तहमा एक वर्षको पदावधि छँदै कुनै पद रिक्त रहेमा उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ। त्यसै अनुसार निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि साउन २९ गते मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको थियो।

आयोगले अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको मितिसम्ममा कुनै पद खाली भएमा मंसिर १६ गते नै उपनिर्वाचन गराउनेछ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार अबका एक महिनामा अन्तिम मतदाता नामावली स्वीकृत गरेर प्रकाशन गरिनेछ।

‘अहिले नै अन्तिम मतदाता नामवली स्वीकृत र प्रकाशन गर्ने मिति तय भइसकेको छैन,’ उनले नेपालखबरसँग भने, ‘तर, मंसिर १६ को उपचुनावका लागि अबको एक महिना अर्थात् असोज महिनाभरिको समय दिएर अन्तिम नामावली प्रकाशन हुन्छ।’

उपनिर्वाचन हुन लागेका अधिकांश पदमा यसअघि नेपाली कांग्रेसले जितेको थियो। त्यसपछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले थिए।

नेपाली कांग्रेसको तर्फबाट २ जिल्ला समन्वय समिति प्रमुख, ३ पालिका प्रमुख, ३ पालिका उपप्रमुख र १७ वडाध्यक्ष गरी २५ जनप्रतिनिधि निर्वाचित भएका थिए।

त्यस्तै नेकपा माओवादीले २ पालिका उपाध्यक्ष र ५ वडाध्यक्ष गरी जम्मा ७ पद जितेको थियो।  नेकपा एमालेले ६ वडाध्यक्ष जितेका थिए।

जनता समाजवादीले जितेको १ वडाध्यक्ष र स्वतन्त्र (कैँची)ले जितेको १ वडाध्यक्ष पद पनि रिक्त रहेकाले उपनिर्वाचन हुँदै छ।

२ जिसस प्रमुख, २ गाउँपालिका अध्यक्ष र १ मेयर
ओखलढुंगा र कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पद रिक्त छन्।

क्यान्सर रोगबाट पीडित जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको २०८० असोज १४ माा निधन भएको थियो। त्यस्तै मिर्गौला रोगबाट पीडित जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएको थियो।

उनीहरू दुवै जना नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

त्यस्तै कांग्रेसबाटै निर्वाचित भएका मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र दैलेखको महाबु गाउँपालिका अध्यक्षको पनि निधन भएका कारण त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

२०८१ असार ३ गते ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको थियो। मस्तिष्कघात भएर उनी लामो समय थलिएका थिए। २०७९ को स्थानीय तहको निर्वाचनमा गच्छदार नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। उनले ७ हजार ६ सय ५ मत प्राप्त गरेका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी थिए नेकपा एमालेका शिवनारायण माझी। उनले ६ हजार ९३ मत ल्याएका थिए। तेस्रो भएका नेकपा माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७  सय २७ मत प्राप्त गरेका थिए। यहाँ कांग्रेस र एमालेले पाएको मतमा धेरै फरक छैन।

दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको २०७९ माघ माघ २७ मा निधन भएको थियो। नेकपा एमालेका हरिप्रसाद उपाध्यायलाई उनले पराजित गरेका थिए।

गुरुङले २ हजार ९ सय ७९ मत ल्याएका थिए भने उपाध्यायले २ हजार ५ सय १९ पाएका थिए। यहाँ पनि कांग्रेस र एमालेले प्राप्त गरेको मतबीच धेरै भिन्नता छैन।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको २०८१ साउन ११ गते निधन भएपछि त्यहाँ चुनाव हुन लागेको छ। काठमाडौँ उपत्यकामा मेयरका लागि उपनिर्वाचन हुन लागेको कीर्तिपुर मात्र हो।

नकर्मी २०७९ को चुनावमा नेपाली कांग्रेसबाट विजयी भएका थिए। उनले ९०४३ मत प्राप्त गरेका थिए। दोस्रो बनेका नेकपा एमालेका केशरत्‍न बज्राचार्यले ५ हजार ५ सय ७ मत प्राप्त गरेका थिए। त्यस्तै तेस्रो बनेका माओवादी केन्द्रका शिव शरण महर्जनले ४ हजार ९० मत प्राप्त गरेका थिए।

१० वडा रहेको नगरपालिकामा नेपाली कांग्रेसले ९ वडाध्यक्ष जितेको थियो।

४ उपाध्यक्ष, १ उपमेयर
दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको २०८० असार ३१ गते हृदयाघातका कारण निधन भएपछि उक्त पद रिक्त थियो। २०७९ मा उनी कांग्रेस–माओवादी गठबन्धनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए।

उनले ४ हजार ७ सय ४१ मत ल्याएर एमालेकी मुना शिवाकोटीलाई पराजित गरेका थिए। उनले भने ३ हजार २ सय ८१ मत ल्याएकी थिइन्।

पालिका अध्यक्षमा भने माओवादीका विश्वास कार्की विजयी भएका थिए। पालिकाका ९ वडामध्ये ५ वटामा माओवादीले जितेको थियो।

त्यस्तै हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको २०८१ भदौमा गाडी दुर्घटनामा निधन भयो। उनी माओवादी केन्द्रबाट गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए।

उनले ३ हजार २ सय ६९ मत ल्याएर जुनकुमारी फडेरालाई पराजित गरेका थिए। पालिका अध्यक्ष भने नेपाली कांग्रेसले जितेको छ। पालिकाका ८ वडामध्ये माओवादीले ३, कांग्रेसले २ र एमालेले २ मा जितेकाले तीनै दल प्रतिस्पर्धी देखिन्छन्।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको २०८० माघ ४ मा निधन भएको थियो। कांग्रेसबाट जितेकी उनले एमालेकी सुलोचनाकुमारी भण्डारीलाई पराजित गरकी थिइन्।

जोशीले १ हजार ८ सय १० मत प्राप्त गरेकी थिइन् भने भण्डारीले १ हजार ६ सय ३७ ल्याएकी थिइन्। पालिका अध्यक्ष पनि कांग्रेसले नै जितेको छ भने ५ वडामध्ये ३ मा कांग्रेस, एमाले र माओवादी १/१ वडामा विजयी भएका थिए।

जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको २०८० कार्तिक १७ मा आएको भूकम्पमा परी मृत्यु भएको थियो। नेपाली कांग्रेसबाट निर्वाचित भएकी उनले ५ हजार ४०६ मत ल्याएकी थिइन्। उनकी निकटतम प्रतिद्वन्द्वी सुनिता बोहराले ३ हजार ३ सय ९३ मत ल्याएकी थिइन्।

नगर प्रमुख भने माओवादीले जितेको थियो। १३ वडामध्ये माओवादीले ५, कांग्रेसले ४ र एमालेले ३ वडामा जितेको थियो।

त्यस्तै पुथाउत्तरगंगा गाउँपालिका, रुकुमपूर्वकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको गत भदौ २८ गते बागलुङमा भएको गाडी दुर्घटनामा परी निधन भएको थियो।

माओवादीबाट निर्वाचित भएकी उनले ४ हजार ५९ मत प्राप्त गरेकी थिइन्। उनकी निकटतम प्रतिद्वन्द्वी रहेकी कमलाकुमारी मल्लले २ हजार १० ल्याएकी थिइन्।

पालिका अध्यक्ष समेत माओवादीले जितेको छ। पालिकाका १४ मध्य ११ वडामा माओवादीले जितेको छ।

३० वडाध्यक्ष
नगरपालिकाका २१ र गाउँपालिकाका ९ गरी ३० वडाअध्यक्षका पद पनि रिक्त भएकाले त्यहाँ पनि मंसिर १६ मा उपनिर्वाचन हुँदैछ। चुनाव हुन लागेका धेरैजसो वडामा यसअघि कांग्रेसले जितेको थियो।

नेपाली कांग्रेसले जितेका १७, एमालेले जितेका ६, माओवादीले जितेका ५, जसपाले जितेको १ र स्वतन्त्रले जितेको १ वडामा चुनाव हुँदैछ । 

कांग्रेसले जितेको वडामा लागिगुराँस–८, मोलुङ गाउँपालिका–५, त्रियुगा नगरपालिका–१२, बेलका नगरपालिका–९, डाक्नेश्वरी नगरपालिका–४, धनुषाधाम नगरपालिका–१, ईश्वनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६, कीर्तिपुर नगरपालिका–१, काठमाडौं महानगर–१६, ककनी गाउँपालिका–२, मुसीकोट नगरपालिका–१, रुन्टीगढी गाउँपालिका–४, ठाकुरबाबा नगरपालिका–४, सानीभेरी गाउँपालिका–५, पूर्व चौकी गाउँपालिका–६ र भीमदत्त नगरपालिका–६ रहेका छन्।

त्यस्तै एमालेले कन्काई–६, गढी गाउँपालिका–६, गोरखा नगरपालिका–५, दुल्लु नगरपालिका–१३, त्रिपुरासुन्दरी नगरपालिका–५, सुर्मा गाउँपालिका–४ मा जितेको थियो।

माओवादीले जितेका वडामा रामगोपाल नगरपालिका–२, हेटौंडा–१२, तिलागुफा नगरपालिका–४, कुसे गाउँपालिका–७ र दुहुँ गाउँपालिका–५ रेहका छन्।

जसपा नेपालले गढीमाई नगरपालिका–६ र स्वतन्त्र (कैची)ले कीर्तिपुर नगरपालिका–४ मा जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .