राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हुम्ला जिल्ला सर्केगाड गाउँपालिको उपाध्यक्ष पदका उम्मेदवार सुजता थापालाई धम्क्याइएको र अपहरणको शैलीमा लछारपछार गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ।
रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निर्भयपूर्वक चुनाव लड्न पाउने वातावरण नभएको भन्दै आइतबार आयोगमा उजुरी दिएका हुन्। ‘हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारका लागि तयार रहेकी श्री सुजता थापालाई उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला हिजो मंसिर १ गते दिउँसो करिब १ बजे निज सुजाता थापा र उहाँको श्रीमान बल थापालाई करीब ४०/४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लिएर गएको र त्यस लगत्तै गाउँमा खैलाबैला भएको थियो,’ रास्वपाले भनेको छ, ‘यो कुरा थाहा भए लगतै हुम्लाका प्रमुख जिल्ला अधिकारी श्री नारायण पाण्डेयलाई जानकारी गराइयो। प्रजिअलाई यसअघि पनि अन्य व्यक्तिले यस घटनाको सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरिसकेको बताउनुभएको थियो।’
असुरक्षाका कारण थापा उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुगेको समेत रास्वपाले बताएको छ। त्यसमा नेपाली कांग्रेसको संलग्नता भएको आरोप समेत रास्वपाको छ। ‘स्थानीय स्रोतका अनुसार उक्त निन्दनीय कार्यमा स्थानीय नेपाली काँग्रेसका सदस्यहरु संलग्न रहेको सूचना प्राप्त भएको छ,’ उजुरीमा भनिएको छ।
त्यस्तै मधेस प्रदेशमा पनि आफ्ना उम्मेदवारहलाई धम्की दिने काम भएको रास्वपाको दाबी छ।
Shares

प्रतिक्रिया