राजनीति


समान विकासका लागि विश्वका सभ्यताको आदान–प्रदान आवश्यक : वरिष्ठ उपाध्यक्ष पोखरेल

समान विकासका लागि विश्वका सभ्यताको आदान–प्रदान आवश्यक : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार १६:४९, काठमाडौँ

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा ग्लोबल साउथ मुलुकहरु थप एकताबद्ध भएर सामूहिक हित र मानव समद्धिका लागि लाग्नुपर्ने बताएका छन्।  

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा दोश्रो ‘ग्लोबल साउथ थिन्क ट्यांक्स डाइलग’को ‘मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि’ विषयक सत्रमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

उक्त समारोहमा विश्वका १ सय बढी मुलुकका राजनीतिज्ञ तथा बौद्धिक व्यक्तिहरुको सहभागिता रहेको छ। ग्लोबल साउथ देशहरुका समस्याहरुलाई सामूहिक मुकाबिला गर्दै सहअस्तित्व, समावेशी र समानता प्राप्तिको विश्वब्यापी अभियानलाई थप सुदृढ बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको हो।  

कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले विश्वको ८५ प्रतिशत जनसंख्या ओगटेको ग्लोबल साउथका जनताहरुको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४० प्रतिशत मात्र हिस्सा रहेको वर्तमान अवस्थालाई परिवर्तन गरेर गरिबको क्षमता विकासमा सामूहिक योगदान आवश्यकता रहेको पनि उनले बताए।

उनले प्रकृतिले धेरै श्रोतहरुको उपहार दिएको नेपालमा रहेका प्राकृतिक श्रोतहरुलाई समग्र मानव विकासको हितमा प्रयोग गर्न ग्लोबल साउथका बुद्धिजीवीहरुले अध्ययन, अनुसन्धान तथा प्रचार गरेर सहयोग गर्न आग्रह गरे।

नेपालको जनविद्युत, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न ग्लोबल साउथका देशहरुले उपयुक्त सहजीकरण गरेमा नेपालका प्राकृतिक श्रोतलाई ग्लोबल साउथका जनताहरुको समृद्धिका लागि उपयोग गर्न सकिने उनको भनाई थियो।  

हिमाल र इतिहास साक्षी रहेको चीन र नेपालको सदियौंदेखिको समस्यारहित सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी मंसीरमा हुने चीन भ्रमण थप ऐतिहासिक र उपलब्धिमुलक हुने उनले विश्वास व्यक्त गरे।


समारोहको उद्घाटन सत्रमा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागमा मन्त्री ल्यु च्याङ्गचाओ, नेपालको राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे, चिनियाँ कम्युनिष्ट पार्टी ज्याङसु कमिटीका सचिब तथा ज्याङसु प्रदेश सरकार स्थायी कमिटीका अध्यक्ष छिन चाङसिन, क्यूवाको निका लोपिज युनिभर्सिटीका अध्यक्ष हुर्टाडो परेज, संयुक्त सेचेल्सका अध्यक्ष पत्रिक हेर्मनी लगायत बिभिन्न देशका पदाधिकारी तथा प्रतिनिधिहरुले संबोधन गरेका थिए।

चिनियाँ कम्युनिष्ट पार्टी बिदेश बिभागको निमन्त्रणामा नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा एमालेको १५ सदस्यीय प्रतिनिधि मण्डल अहिले चीन भ्रमणमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad