आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको काठमाडौँको कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रले आज उम्मेदवार घोषणा सभा गरेको छ।
कीर्तिपुरमा मेयर र दुई वडाध्यक्ष पदको लागि उपनिर्वाचन हुन लागेको हो।
माओवादीले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने घोषणा गरेको छ। बुधबार भएको उम्मेदवार घोषणा सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले सम्बोधन गरेका छन्।

कार्यक्रममा माओवादीको तर्फबाट मेयर पदका उम्मेदवार महर्जनले चुनाव जितेको दिन मात्रै खादा र माला लगाउने भन्दै उम्मेदवार घोषणासभामा खादा र माला लगाउन अस्वीकार छन्।
‘चुनाव जितेको दिन जनताको हातको माला लगाउछु। अहिले होइन’ प्रचण्डले खादा र माला लगाइदिन खोज्दा मल्ले भने।
सत्तारुढ दल नेकपा एमालेले डा.सुरेन्द्र मानन्धरलाई कीर्तिपुरमा मेयरको उम्मेदवार बनाउने घोषणा गरेको छ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुव महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरेको छ। अर्को सत्तारुढ दल कांग्रेसले भने अझै उम्मेदवार टुंगो लगाएको छैन।
कीर्तिपुरका मेयर राजकुमार नकर्मीको क्यान्सरका कारण २०८१ साउन ११ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो। उनी कांग्रेसबाट निर्वाचित थिए।
त्यसैगरी क्यान्सरकै कारण कीर्तिपुर(१ का वडाध्यक्ष हीरालाल महर्जनको २०८० फागुनमा तथा मोटरसाइकल दुर्घटनामा परी वडा नं। ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको २०८० वैशाखमा निधन भएको थियो।
घटना, प्रकोप र रोगव्याधिलगायत कारण जनप्रतिनिधिको निधन भएका स्थानीय तहका विभिन्न ४० पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो।
जसमा जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी ४० पद छन्।
उपनिर्वाचन हुन लागेकामध्ये नेपाली कांग्रेसका तर्फबाट २ जिल्ला समन्वय समिति प्रमुख, ३ पालिका प्रमुख, ३ पालिका उपप्रमुख र १७ वडाध्यक्ष गरी २५ जनप्रतिनिधि निर्वाचित भएका थिए।
त्यस्तै नेकपा माओवादीले २ पालिका उपाध्यक्ष र ५ वडाध्यक्ष गरी जम्मा ७ पद जितेको थियो। नेकपा एमालेले ६ वडाध्यक्ष जितेका थिए।
जनता समाजवादीले जितेको १ वडाध्यक्ष र स्वतन्त्र (कैँची) ले जितेको १ वडाध्यक्ष पद पनि रिक्त रहेकाले उपनिर्वाचन हुँदै छ।
Shares

प्रतिक्रिया