राजनीति


मानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारी एमालेबाट निलम्बित

मानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारी एमालेबाट निलम्बित

नेपालखबर
कात्तिक २४, २०८१ शनिबार १४:५४, काठमाडौँ

मानव तस्करीको गम्भीर आरोप लागेका कोसी प्रदेशका निवर्तमान कानुनमन्त्री लिलाबल्लभ अधिकारी पार्टीबाट निलम्बित भएका छन्।

नेकपा एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार मानव तस्करीको आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीको कुनैपनि तहमा रहन नपाउनेगरी अधिकारीलाई निलम्बन गरिएको हो। 

‘माननीय श्री लिलाबल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभए सम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी वहाँलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधी परिषद सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ,’ अध्यक्ष खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। 

अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। उक्त आरोपलगत्तै उनले मन्त्री र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिइसकेका छन्। 

एमालेले उक्त विषयसँग जोडिएर मन्त्री अधिकारीको नाम आएपछि राजीनामा गरिसकेको र अनुसन्धान हुँदै गरेको अवस्थामा पार्टीमाथि नै विभिन्न आरोप लगाइएको भन्दै ध्यानाकर्षण पनि गराएको छ। 

‘मन्त्री पदबाट वहाँले राजीनामा गरेसंगै वहाँको भ्रमणसंग जोडिएर वहाँको भ्रमण दलका सदस्यहरु प्रक्राउ परि अनुसन्धान भइरहेको अवस्थामा स्वयम निर्वतमान मन्त्री माथी मानव तस्करीको गंभीर आरोप लगाएर विभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरुमा नेकपा (एमाले) माथि समेत गम्भीर आरोप लगाउँदै अन्य गम्भीर प्रकृतिका अनियमितताका घटनाहरूलाई ढाकछोप वा हल्का बनाउने प्रयास भइरहेको कुराले पार्टीको गंभिर ध्यानाकर्षण भएको छ,’ एमाले कोसीले भनेको छ। 

मन्त्री अधिकारीलाई गृह मन्त्रालयले आवश्यकता अनुसार कानुनी दायरामा ल्याउन निर्देशन दिइसकेको स्रोतले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad