ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन्।
सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२१) को २१ औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो। उक्त सम्मेलनमा भाग लिएका करिब एक सय २० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवर्द्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए।
उक्त सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुनेछ। यस्तै, सम्मेलनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्ष, सहअध्यक्ष, महानिर्देशकलगायत विभिन्न पदमा नयाँ कार्यसमिति चुन्ने कार्यक्रमसमेत छ।
सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रतिबद्धताअनुरुप सौर्यजस्ता स्वच्छ ऊर्जाको अधिकतम विकास एवं प्रवद्र्धनबाट स्वच्छ ऊर्जा सङ्क्रमण कार्यान्वयनमा सहयोग पुग्ने बताइएको छ।
उक्त सम्मेलनमा हरित विकास, जलवायु परिवर्तन र सौर्य उर्जा विकाससँग सम्बन्धित विश्वमा भएका सफल अभ्यासहरुको आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ।
उक्त सम्मेलनमा ऊर्जामन्त्री खड्काले भारतको नवीकरणीय उर्जामन्त्री एवम् ‘आइएसए’को अध्यक्ष प्रह्लाद वेंकटेश जोशीसँग भेट्ने कार्यक्रम रहेको छ। भेटमा नेपालको नविकरणीय उर्जा क्षेत्रको विकासका विविध विषयमा छलफल हुनेछ।
आइएसएले हाल नेपालको राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइलगायतका विभिन्न सात कार्यक्रममा सहयोग गर्नेछ।
उक्त सम्मेलनमा भाग लिन मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह र मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठसमेत नयाँदिल्ली गएका छन्। रासस
Shares

प्रतिक्रिया