राजनीति


सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ : मन्त्री गुरुङ

सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ : मन्त्री गुरुङ

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १९:१८, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुृरुङले इन्टेलिजेन्स आर्टिफिसियल (एआई) र रोबर्टजन्य यन्त्रको प्रयोगले नेपालको समृद्धिको यात्रालाई तीव्र गति दिने सम्भावनालाई ध्यानमा राख्दै सरकार यससम्बन्धी नीति निर्माणमा लागिपरेको बताएका छन्।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा राजधानीमा आजदेखि सुरु भएको एआई र रोबोेट प्रविधिसम्बन्धी दुईदिने सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले देशको आर्थिक, औद्योगिक विकासका साथै अनुसन्धान र शिक्षाको उन्नयनमा एआईको असीमित भूमिका हुने समेत बताए। 

एआई र रोबोर्ट प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोग गर्न सके औद्योगिक क्षेत्रमा उत्पादनको सङ्ख्या, गुणस्तर मात्र बढ्ने नभई नवप्रवर्तनलाई प्रोत्साहन मिल्ने भएकाले सरकारले सार्वजनिक निजी साझेदारीअन्तर्गत अघि बढ्न चाहेको पनि मन्त्री गुरुङले बताए।

नेपालले योजनाबद्ध रूपमा सूचना प्रविधिसम्बन्धी विशेष आर्थिक क्षेत्र अघि बढाउँदै सूचना प्रविधिमा क्रान्ति गर्नाका साथै वैदेशिक सूचना प्रविधि कम्पनीहरुलाई उनीहरुको उत्पादनका लागि ‘आउट सोर्सिङ’ गन्तव्यका रूपमा आकर्षित गर्न खोजेको मन्त्री गुरुङले बताए। ‘यसमार्फत हामीले सूचना प्रविधिमा दक्ष जनशक्तिलाई देशभित्रै आकर्षक रोजगारीको सुनिश्चितता गर्न खोजेका हौँ’, उनले भने।

साथै नेपाललाई सूचना प्रविधिसम्बन्धी लगानीका लागि एउटा आकर्षक गन्तव्यका रुपमा  विकास गर्न खोजिएको मन्त्री गुरुङले बताए।

एआईसहित उच्चस्तरको आइसिटी इकोसिस्टमसम्बन्धी लक्ष्य प्राप्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा एआईको प्रयोगसम्बन्धी अवधारणपत्रसमेत तयार पारिसकेको उनले उल्लेख गरे।

सरकारले डिजिटल नेपाल फ्रेम वर्कसम्बन्धी नीतिको परिमार्जन आइटी एवं साइबर सुरक्षा ऐनको तयारीका साथ आवश्यक कानुन नीतिहरुसमेत बनाइरहेको उनले बताए। 

राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना तथा सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन निर्देशिका लागू हुने क्रममा रहेको उनले जानकारी दिए।

मन्त्रालयले डिजिटल नेपाल फ्रेम वर्कको प्रभावकारी कार्यान्वयन गर्दै डिजिटल प्रविधिको सार्वजनिक प्रयोगलाई बढावा दिन खोजिरहेको मन्त्री गुरुङले बताए। 

दिगो विकास लक्ष्य, २०३० को प्राप्तिका लागि सूचना प्रविधि क्षेत्रलाई अघि बढाउन आवश्यक भएको उनको धारणा थियो। नेपाललाई सूचनाप्रविधि मैत्री तथा एआई मैत्री देश बनाउनका लागि निजीलगायत सबै क्षेत्रलाई मन, वचन र कर्मका साथ सहकार्य गर्न मन्त्री गुरुङले आह्वान गरे।

कार्यक्रममा युरोपेली देशमा रोबर्ट प्रविधि प्रवद्र्धन गरिरहेको संस्था इयू रोबोटिक्सका उपाध्यक्ष प्राध्यापक जुवा रोनिङले एआईको प्रयोग मानव हितका साथै मानवीय मर्यादा कायम रहनेगरी गर्नुपर्नेमा जोड दिँदै नीतिनियमबाट निर्देशित एआई प्रयोग हुनुपर्ने बताए।

‘आजको समग्र चिन्ता नै एआईको प्रभावकारी, सर्वस्वीकार्य तथा सुरक्षित प्रयोग कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने हो’, उनले भने।

अबुधावीस्थित खलिफा विश्वद्यालयका प्राध्यापक डा जे एम मनिन्द्र दियासले कृषि, स्वास्थ्यसहितका विकासका विभिन्न विधामा एआईको प्रयोगले चामत्कारिक नतिजा दिएको उदाहरणहरु प्रस्तुत गरेका थिए। 

सोमबारसम्म चल्ने सेमिनारमा एआई र रोबोर्ट यन्त्रको विकासमा विभिन्न क्षेत्रका भूमिका तथा आगामी बाटोबारे छलफल हुने आयोजक संस्था राष्ट्रिय युवा सङ्घ नेपालले जानकारी दिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad