राजनीति


कास्की प्रहरीले भन्यो– रविमाथि दुर्व्यवहार भएको छैन, झुटो प्रचार नगर्नू

कास्की प्रहरीले भन्यो– रविमाथि दुर्व्यवहार भएको छैन, झुटो प्रचार नगर्नू

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १३:२०, काठमाडौँ

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि हिरासतमा आदरार्थी शब्दको प्रयोग नगरेको, हिरासतमा दुर्व्यवहार गरेको लगायतका आरोपको कास्की प्रहरीले खण्डन गरेको छ। 

जिल्ला प्रहरी कास्कीका नायब उपरीक्षक बसन्त कुमार शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त आरोपबारे खण्डन गरेका हुन्। 

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर कास्की लगिएको थियो। उनी पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। 

प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। 

उनलाई कात्तिक ८ गते बिहीबार अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। कास्की प्रहरीले अदालतमा उपस्थित गराउँदा प्रहरीले आदरार्थी शब्दको प्रयोग नगरेको भन्दै ध्यानाकर्षण गराएको छ। 

‘अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियार सहित प्रवेश गरेको, धम्काएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटकलगायतका सामाजिक सञ्जालहरुमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ,’ कास्की प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा रहेर मात्रै सूचना सम्प्रेषण गराउन प्रहरीले आग्रह गरेको छ।

‘नेपालको संविधान एवं प्रचलित ऐन कानून बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, कास्की सदैव प्रतिबद्ध रहेको अनुरोध गर्दछ,’ प्रहरीले विज्ञप्तिमा भनेको छ, ‘त्यसैले कोही कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहिन कुराहरूलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषित गरी दिनु हुन सम्पूर्णमा जिल्ला प्रहरी कार्यालय, कास्की हार्दिक अनुरोध गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad