प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौँमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले सरकारले जलवायुजन्य क्षेत्रमा काम गरिरहेको बताए।
प्रधानमन्त्री ओलीले कोप-२९ मा पनि नेपालले जलवायुजन्य मुद्दाको नेतृत्व गर्ने बताए। उनले नेपाल जलवायुजन्य प्रभावलाई सबैभन्दा बढी रोक्नसक्ने भूगोल भएको समेत बताउनु दाबी गरे।
उनले जलवायु वित्त, जलवायु न्यायका विषयमा अहिले नेपालले खरो रुपमा आवाज उठाइरहेको जिकिर गरे। ‘आज हामी खास गरी कोप–२९ को तयारीका सन्दर्भमा नेपालको त्यहाँ पोजिसन, हाम्रो अडान, दृष्टिकोण के हुने भन्ने विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने, ‘मैले विश्वास लिएको छु, यस सम्मेलनले यी विषयहरु उपयुक्त र पर्याप्त जवाफ निकाल्छ।’
ओलीले थपे, ‘नेपालले लगभग अन्तर्राष्ट्रिय फोरमहरुमा क्लाइमेट इस्युजमा लिड गर्ने गरेको छ। र गर्नुपर्छ लिड । सबैभन्दा बढी सरोकारवाला, सबैभन्दा बढी प्रभावित र सबैभन्दा बढी असर पार्ने र असरलाई रोक्नसक्ने भूगोल यही हो। यसै भूगोलले रोक्नुपर्छ।’
प्रधानमन्त्री ओलीले मधेस प्रदेशमा जलवायु परिवर्तनको ठूलो असर परेको महशुस गरेको बताए। जलवायु परिवर्तनकोअसर न्यूनीकरणका लागि वृक्षारोपणको अभियान सुरु गरेको र संघ सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए। जलवायु परिवर्तनका कारण महिला, बालबालिकार ज्येष्ठ नागरिक सबैभन्दा बढी पीडित भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
Shares

प्रतिक्रिया