राजनीति


सिस्नेरीमा बाल खेलाडीहरू पुरिएको घटना छानबिनका लागि पहल गर्ने प्रचण्डको वचन

सिस्नेरीमा बाल खेलाडीहरू पुरिएको घटना छानबिनका लागि पहल गर्ने प्रचण्डको वचन

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १८:२३, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको सिस्नेरीमा ६ जना बाल खेलाडीहरू पुरिएको घटनाको निष्पक्ष छानविनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

असोज १२ गते पहिरोमा पुरिएर ज्यान गुमाएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका अभिभावकसँगको भेटमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘देशका लागि योगदान गर्ने सपनासहित खेल प्रशिक्षणमा रहेका छ जना बाल खेलाडीको निधनले राष्ट्रलाई अपुरणीय क्षति भएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘पीडित परिवारहरुको माग र घटनाक्रम हेर्दा यसमा एन्फा र सम्बन्धित विद्यालयको चरम लापर्वाही देखिन्छ, खोलानजिक रहेको असुरक्षित ठाउँमा यति महत्वपूर्ण प्रशिक्षण केन्द्र किन राखियो भन्नेदेखि सिस्नेरी बजारमा कुनै मानवीय क्षति नहुँदा पनि यी बाल खेलाडीहरुको कसरी क्षति हुन गयो भन्ने विषयमा उच्चस्तरीय छानविन गर्न आवश्यक छ, म यसका लागि प्रतिपक्षी दलहरूको तर्फबाट पहल गर्ने छु।’

राजधानीमा छतमा बसेर गुहार माग्दासमेत उद्धार गर्न नसक्ने अवस्थाले पछिल्लो बाढीपहिरोको घटनामा सरकार निकै कमजोर देखिएको उल्लेख गर्दै उनले यिनै विषयहरु समेटेर प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको, राष्ट्रपतिको ध्यानाकर्षण गराइएको, आफ्नो पार्टीले खबरदारी सभा आयोजना गरेको र आवश्यक परे संसदको विशेष अधिवेशन बोलाएर भए पनि सडक र सदनबाट जनताका आवाजलाई प्रभावकारीरुपमा सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

यो घटनाको निष्पक्षमा छानविन गरी दोषका आधार कारवाही, मृतक खेलाडीहरुलाई अमर बनाउने गरी एउटा कोष स्थापना गरेर एकेडेमी वा कुनै स्मरणयोग्य संरचना र उनीहरुकै नामबाट नियमति प्रशिक्षण खेलकूद आयोजना, एन्फा परिसरमा मृतक खेलाडीहरुको प्रतिमा स्थापना र परिवारलाई उचित राहतका लागि आवश्यक पहल गर्ने उनले बताए।

अध्यक्ष प्रचण्डले यो संवेदनशील विषय भएकाले सबै दल र सरोकारवालाहरु गम्भीर हुनुपर्ने उल्लेख गर्दै पीडित पक्षलाई पनि सबै सँग भेट गरेर घटनाको यथार्थ जानकारी गराउन आग्रह गरे।
  
पीडित परिवारका तर्फबाट ललितबहादुर घलान, भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन र दिपा बानियाँले अध्यक्ष प्रचण्डलाई संयुक्तरुपमा ध्यानाकर्षणपत्र बुझाएका थिए। 

सो क्रममा पीडित परिवारले विद्यालय व्यवस्थापन र एन्फाको चरम लापर्वाहीका कारण घटना भएको भन्दै उच्चस्तरीय छानबिन गरेर दोषीमाथि कारवाही गर्न माग गरेका थिए। 

दुई दिनदेखि इन्द्रसरोवरको ड्याम खोल्ने सूचना आइरहेको बेला बाल खेलाडीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण नगरिएको, अभिभावकले लैजान खोज्दा पनि लैजान नदिएको, पूर्व सतर्कता अपनाएर सिङ्गो सिस्नेरी बजारका बासिन्दा सुरक्षित हुने बेलामा आफ्ना छोराहरुलाई सुरक्षित गर्नतिर नलागेको, विपतको बेलामा पनि परीक्षाका नाममा बालकहरुलाई नछाडिएको, घटनाको ३० घण्टासम्म परिवारलाई सूचना नदिएको, गलत व्यहोराको जाहेरी तयार गरिएको, शव हस्तान्तरणमा पनि सास्ती दिएर छ दिनपछि मात्रै अन्त्येष्टि गर्न बाध्य बनाएको जस्ता कारणले यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने पीडित परिवारले माग गरेका छन्।

आफूहरूलाई राहतभन्दा पनि न्याय चाहिएको र त्यसका लागि घटनाको निष्पक्ष छानविन गरेर आगामी दिनमा यस्ता घटना हुन नदिने वातावरण बनाउन राज्य गम्भीर हुनुपर्ने भन्दै पीडितहरुले आफ्ना सन्तानलाई अमर बनाउने गरी उनीहरुको स्मृतिमा खेल क्षेत्रमा देखिने संरचना र संस्था निर्माण गरिनुपर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad