राजनीति


सरकारले धनराज गुरुङ र ऋषिकेश पोखरेललाई संरक्षण गर्‍यो : माओवादी केन्द्र

सरकारले धनराज गुरुङ र ऋषिकेश पोखरेललाई संरक्षण गर्‍यो : माओवादी केन्द्र

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १४:१६, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रमाण हुँदा हुँदै पनि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका ऋषिकेश पोखरेललाई सरकारले संरक्षण गरेको बताएको छ। 

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले आफ्नालाई बचाएर बाँकीलाई अनुसन्धानमा तान्ने प्रयास गरेको बताएका हुन्। 

‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा एमालेका ऋषिकेश पोखरेल लगायतकाहरूलाई प्रमाण हुँदा हुँदै खुला रुपमा संरक्षण गरिएको छ’ सापकोटाले भने।

उनले सत्तारुढ दलका नेताहरूको नामै लिएर उनीहरुमाथि अनुसन्धान नभएको आरोप लगाए।

‘अहिलेको सरकारले विपक्षी दलका नेताहरूलाई, विपक्षी दलका व्यक्तिहरूलाई छानी छानी मुद्दा लगाउने, जेल हाल्ने गरेको छ भने आफ्नै नेताहरूलाई जोगाइरहेको छ’ सापकोटाले भने। 

पत्रकारहरूले सापकोटासँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विषयमा पार्टीको धारणा मागेका थिए। जवाफमा उनले सरकारले दोहोरो मापदण्ड अपनाउन नहुने बताए।

‘अदालती प्रक्रियामा गएको छ। उहाँहरूकै कार्यकर्ताले नारा लगाउनुभएको छ। हामीले के गरेका छौं त? हामीले दोहोरो मापदण्ड अपनाउन हुँदैन, पक्षपात गर्न हुँदैन भनेका मात्रै छौं’ सापकोटाले भने।

माओवादी केन्द्रले यही कातिक १० गते हुने प्रदर्शन गर्दैछ। 

यसअघि विपक्षी दलको तर्फबाट सरकारलाई ज्ञापनपत्र  बुझाइएको थियो।  सरकारलाई ज्ञापनपत्र बुझाए लगत्तै माओवादीको प्रदर्शन गर्न लागेको हो।

विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशील, गैरजिम्मेवारी र योजनाविहीनताको उजागर गर्ने र  बेपत्ताहरूको खोजी, उद्धार, राहत वितरण, घाइतेहरूको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनस्र्थापनाको कार्य कार्यान्वयन गराउन दबाब दिइने उनले बताए।

माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासन अभियानलाई कमजोर बनाउन षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारी गरिने बताए। सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्न प्रदर्शन गर्न लागिएको उनले सुनाए। 

सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन पनि प्रदर्शन गर्न लागिएको हो। 

‘संविधान र लोकतन्त्रको रक्षा गर्न,  दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्य सहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षडयन्त्रलाई असफल पार्न पनि प्रदर्शन आवश्यक रहेको छ,’ उनले भने। 

उपाध्यक्ष सापकोटाका अनुसार राजनीतिक दल सम्बन्धी अध्यादेश सरकारले ल्याउन खोजेको तर सार्वजनिक खबरदारी र प्रतिपक्षी दलहरूको खबरदारीले रोकिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad