सुदूरपश्चिम


नेपाल, भारत कतै फेला परिनन् किशोरी, रहस्यमय बन्दै हबलदार आरोपित बैतडी घटना

नेपाल, भारत कतै फेला परिनन् किशोरी, रहस्यमय बन्दै हबलदार आरोपित बैतडी घटना

नेपालखबर
कात्तिक ८, २०८१ बिहिबार १४:१६, कञ्चनपुर

बैतडीमा किशोरी बेपत्ता घटना रहस्यमय बन्दै गएको छ।

गत असोज २५ गते बिहानदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका-२ डिम्मरकी १७ वर्षीया किशोरीको अवस्था अझै पत्ता नलागेको हो।

उनी हराएको आज १३ दिन बितिसक्दा पनि कुनै संकेत नपाइएको हो। 

किशोरीको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।

आफन्तका घर, महाकाली किनार, भारत र नेपाल दुवैतर्फ खोजी गर्दा पनि अहिलेसम्म किशोरी फेला नपरेको उनले बताए। 

किशोरी खोजीमा प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको प्रहरी टोली पञ्चेश्वरमा सक्रिय छ। तर अहिलेसम्म प्रहरीले किशोरीको कुनै सुइँको पाएको छैन।

गत असोज २५ गते बिहान पानी लिन भनी नजिकैको धारातर्फ गएकी उनी घर फर्किनन्।

महाकाली प्रहरी चौकीनजिकै किशोरीले पानी ल्याउन लगेका ‘ग्यालेन’ र डोरी भेटिएका थिए। 

छोरीको अवस्था थाहा नहुँदा परिवारलाई ठूलो चिन्तामा परेको छ।

किशोरीलाई बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकीका प्रहरी हबलदार कृष्णराज जोशी नै पक्राउ परेका छन्। उनीबारे अनुसन्धान भइरहेको छ।

किशोरीको परिवारले जोशीविरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटारी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन्। 

गत असोज २५ गते भागेर महाकालीपारि भारतको सुगरखाल पुगेका जोशीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। उनी अहिले जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा छन्।

किशोरी र प्रहरी हबलदारबीच ‘प्रेम सम्बन्ध’ रहेको कुरालाई बल पुर्‍याउने प्रमाण पनि भेटिएका छन्। हबलदार जोशीको मोबाइलमा ती किशोरी र उनका संयुक्त तस्बिर भेटिएका हुन्। 

पानीपँधेरो एउटै ठाउँमा गर्ने र चौकीनजिकै घर हुँदा चिनजान भएको हबलदार जोशीले प्रहरीसमक्ष बताएका छन्।

तर किशोरी बेपत्ताबारे आफूलाई केही थाहा नभएको जिकिर उनले गरिरहेका छन्। 

प्रहरीलाई नै किशोरी बेपत्ताको आरोप लागेपछि महाकाली प्रहरी चौकीका प्रहरी जिल्लामा तानिएका छन्। 

महाकाली प्रहरी चौकीमा अहिले सई सुरतबहादुर साउँदको नेतृत्वमा नयाँ टोली छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad