प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले सय दिनमा गरेका कामहरू सार्वजनिक गरेका छन्। बुधबार सिंहदरबारबाट उनले सरकारका उपलब्धि सुनाए।
सय दिनमा गर्ने भनिएका २७४ मध्य १८५ काम गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले त्यो ७० प्रतिशत जति भएको बताए। प्राकृतिक विपद नआएको भए सशप्रतिशत नै काम सकिने समेत उनको दाबी थियो।
ओलीले सार्वजनिक गरेका उपलब्धिमा अघिल्लो सरकारले गरेका कामहरू समेत समावेश गरिएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विस्थापित गर्दै ओली गत असार ३० मा प्रधानमन्त्री नियुक्त भएका थिए।
ओलीले अघिल्लो सरकारले नै गरेका जाजरकोट भूकम्प पीडितलाई पहिलो किस्ता निकासी गरेको, दुग्ध किसान र उखु किसानको रकम भुक्तानी गरेको जस्ता विषय आफ्नो सरकारको उपलब्धी भनेर राखेका छन्।
त्यस्तै 'स्टार्ट अप' कर्जाप्रवाह र बंगलादेशसँगको ४० मेगावाट बिजुली बेच्ने सम्झौतालाई पनि उनले आफ्नो सरकारको उपलब्धीका रुपमा उल्लेख गरेका छन्।
'स्टार्ट अप' कर्जाप्रवाह अघिल्लो सरकारले नै बजेटमा व्यवस्था गरेको थियो। त्यस्तै बंगलादेशसँगको सम्झौता पनि अघिल्लो सरकारले नै टुंग्याइसकेको थियो। तर, बंगलादेशमा सुरू भएको विद्यार्थी आन्दोलनका कारण उक्त सम्झौतामा हस्ताक्षर हुने समय पछाडि धकेलिएको थियो।
Shares

प्रतिक्रिया