राजनीति


राष्ट्रपतिलाई विपक्षीले भने– अध्यादेश आउँदै छ, विवादमा नपर्नुहोला

राष्ट्रपतिलाई विपक्षीले भने– अध्यादेश आउँदै छ, विवादमा नपर्नुहोला

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १७:३६, काठमाडौँ

विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई दलीय अधिनायकवादतर्फ लैजानका लागि अध्यादेश ल्याउन खोजेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेललाई सचेत रहन भनेका छन्।

संविधानको मूल मर्म बहुदलीय लोकतान्त्रिक गणतन्त्र भए पनि संविधानको आशयविपरीत अध्यादेश ल्याउन खोजेको उनीहरूको भनाइ थियो।

‘संविधानको मर्मविपरीत अध्यादेश ल्याएर राष्ट्रपतिलाई समेत विवादमा पार्न खोजिँदै छ। यसमा सचेत रहनुहोला। विवादमा नपर्नुहोला।’ भेटमा सहभागी एक नेताले विपक्षी दलका नेताहरूका तर्फबाट राष्ट्रपतिलाई गरिएको आग्रहबारे भने।

विपक्षी दलका नेताहरूले सरकारको गति र मति सकारात्मक दिशामा नभएको, बाढी पहिरोमा संवेदनशील नभएको र सुशासनमा कमजोर देखिएको पनि राष्ट्रपतिलाई सुनाए। 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दलका नेताहरू राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए।

शीतलनिवास पुग्नेमा नेकपा माओवादी केन्द्रबाट प्रचण्ड र शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीबाट माधवकुमार नेपाल र राजेन्द्र प्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ र हेमजङ गुरुङ, आम जनता पार्टीबाट तिलक थापामगर थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न अध्यादेश ल्याउन खोजेको आशंका गर्दै उक्त विधेयक आएमा जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय विपक्षी दलहरूले गरेका थिए।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूका तर्फबाट १३ बुँदे ज्ञापनपत्र बुझाइएको थियो।

विपक्षी दलहरूको समूहमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टी छन्।

राष्ट्रपतिको सचिवालयले दिएको जानकारी अनुसार, प्रतिपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमीकमजोरीहरूबारे राष्ट्रपतिलाई जानकारी दिएका थिए।

प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिन आफूहरू आएको बताउँदै लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

‘उहाँहरूले संविधानको मर्मविपरीत र बहुलवादको मर्मविपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो,’ पोखरेलले भने, ‘सो असरमा राष्ट्रपति पौडेलले आफू संविधान, राष्ट्र र राष्ट्रिय एकताको प्रर्वद्धनमा प्रतिबद्ध रहेको बताउँदै संविधानले आफूलाई दिएको कर्तव्य र सीमाअनुसार अगाडि बढ्ने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो।’

राष्ट्रपतिलाई उद्धृत गर्दै उनले भने, ‘संविधान मर्म र लोकतन्त्रको मर्मलाई हेरेर संविधानद्वारा निर्धारित राष्ट्रपतिको कर्तव्य र सीमालाई हेरेर मैले काम गर्ने कुरामा तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु।’

सम्बन्धित खबर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad