राजनीति


‘नयाँ शक्ति’ थपेर बाबुरामको पार्टीको नाम परिवर्तन, माघमा महाधिवेशन

‘नयाँ शक्ति’ थपेर बाबुरामको पार्टीको नाम परिवर्तन, माघमा महाधिवेशन

नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १९:६, पोखरा

नेपाल समाजवादी पार्टी नेसपाले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको  छ।

पोखरामा आज समापन भएको प्रथम विधान अधिवेशनबाट उक्त मितिमा पार्टीको महाधिवेशन गर्ने सचिवालय बैठकको निर्णय पारित गरेको हो।

आजै सचिवालय बैठक बसेको थियो। महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ।

विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको छ। विधान प्रतिनिधिहरूबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको हो। पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति भएको छ।

अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ। जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष (१ महिला, १ जनजाति, १ मधेसी, १ खसाआर्य, १ दलित), १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष हुनेछन्।  

निर्वाचन समिति ३३ सदस्यीय हुनेछन्। सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ। पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ। त्यस्तै सबै समितिमा महिलापदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा गरिएको छ।

विधान अधिवेशनमा पार्टीको आयव्यय प्रस्तुत गरिएको छ।  

आय ७ लाख ५० हजार र व्यय ९ लाख ७७ हजार १६० रुपैयाँ रहेको छ।

यससँगै नेसपाको प्रथम विधान अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनमा ७१ जिल्ला र विदेश (६ देश)बाट कूल ५०० प्रतिनिधि उपस्थित थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad