राजनीति


सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

‘तपाईंहरूले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ’
सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

मंगलबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड


नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार ११:४३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनका नाममा आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप लगाएका छन्। 

पार्टीले कात्तिक १० गते काठमाडौँमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीका बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकार सुशासनको मामिलामा कमजोर देखिएको टिप्पणी गरेका हुन्। 

मंगलबार बिहान माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित भेला

माओवादी केन्द्र कांग्रेस-एमालेभन्दा भिन्न रहेको दाबी गर्दै उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा दल र अनुहार नहेरेर कारबाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको जिकिर गरे। 

हिजो मात्रै विपक्षी दलहरूका तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको संवाद सुनाउँदै प्रचण्डले भने, ‘मैले स्पष्टसँग भनेको थिएँ- तपाईं र हामीमा फरक के भयो भने हामी के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौँ तर तपाईंहरूले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ।’

सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको आरोप लगाउँदै माओवादी अध्यक्ष प्रचण्डले सरकारको ‘हनिमुन पिरियड’लाई ध्यान दिँदै अहिलेसम्म सडकमा नआएको तर अब सरकारको सय दिन पुगेकाले सडक प्रदर्शन कार्यक्रम अघि सार्न थालिएको बताए।

आफ्नो पार्टी नेतृत्वको सरकारले १८ महिनामा गरेका कामले जनतामा उत्साह थप्दै गएका बेला भ्रष्टाचारीलाई बचाउन नयाँ समीकरण बनेको जनताले राम्ररी बुझेको बताउँदै उनले यसलाई थप स्पष्ट गर्दै अब सरकारका गलत कामको भण्डाफोर गर्दै जानुपर्ने जिकिर गरे। 

सरकारले एकपछि अर्को नाजायज हर्कत गर्दै जाँदा जनतामा सरकारविरोधी भावना बढ्दै गएको दाबी उनले गरे।

उद्योगहरूबाट बक्यौता महसुल उठाउन खोज्दा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढीपहिरोपछि उद्धार, राहत र पुनर्स्थापनामा ध्यान नदिनेदेखि जग्गा दान प्रकरणसम्म आउँदा सरकार आफैँ भ्रष्टाचारीको संरक्षकका रूपमा प्रस्तुत भएको आरोप प्रचण्डले लगाए। 

अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित राजनीतिक उपलब्धिमाथि प्रहार हुन थालेकाले अब सडकबाट जनतालाई अपिल गर्न ढिलाई गर्न नहुने ठानेर नै पार्टीले जनप्रदर्शनको कार्यक्रम तय गरेको बताए।

‘सरकार गठन गर्ने बेला नै दुईदलीय व्यवस्थाको वकालत गरिएको थियो, त्यो निरंकुश सोच हो। अहिले पनि कतै न कतै गठबन्धनभित्र यसखालको सोच हटेको छैन’, उनले भने, ‘यसलाई अघि बढाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने षड्यन्त्र जारी नै छ, यी सबै षड्यन्त्रका विरुद्ध सशक्त खबरदारी जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad