डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले ‘समावेशी तथा सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवाद’लाई पार्टीको निर्देशक विचारको रुपमा लिएको छ।
पार्टीको सोमबारबाट पोखरामा जारी प्रथम विधान अधिवेशनमा वितरण गरिएको घोषणापत्रमा उदार लोकतन्त्र र खुल्ला बजार अर्थतन्त्रको नाममा भएका अभ्यासहरूले असमानता, गरिबी, बेरोजगारी, वातावरणीय विनाशलाई झनै बढाएको र त्यसको विकल्पमा आएको भनिएको साम्यवादी सत्तामा एकदलीयता, वैचारिक स्वतन्त्रताको अभाव, अति राष्ट्रियकरण र अति केन्द्रीयकरणवादी चिन्तन हावी भएको ठहरमात्र गरिएको छैन,आजको युग एकसाथ ‘उत्तर पूँजीवाद’ र ‘उत्तर राज्यसमाजवाद’ को युग भएको विश्लेषणसहित नयाँ विचार समातिएको जिकिर पनि गरिएको छ।
पार्टी अध्यक्ष डा. भट्टराईले २०७२ सालमै यही अवधारणा सार्वजनिक गर्दै माओवादी केन्द्र छाडेको घोषणा गरेका थिए।
घोषणापत्रमा लेखिएको छ, ‘पार्टी निर्माणको सन्दर्भमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवबाट धेरै कुराहरु सिक्न सकिन्छ। नेपालको सन्दर्भमा वर्गीय सँगसगैँ जातीय, क्षेत्रीय, लैगिक र दलित उत्पीडन र असमानता विशिष्ट समस्या भएको किटान गर्दै भनिएको छ,‘ अन्तर्राष्ट्रिय रुपमा मुख्यतः नवउदारवादी र साम्यवादी विचार बोकेका परम्परागत पार्टीहरु र राष्ट्रिय रुपमा यसका प्रतिनिधि पार्टी कांग्रेस र नामधारी कम्युनिस्टहरु साथै, पहिचानवादी र क्षेत्रीयतावादी पार्टीहरुसँग हाम्रा केही कुरा मिले पनि आधारभूत रुपमा वैचारिक भिन्नता छ।’
वैकल्पिक राजनीतिको नाममा खोलिएका पार्टीहरू विचारहीन
घोषणापत्रमा विश्व र नेपालमा वैकल्पिक राजनीतिको नाममा खोलिएका पार्टीहरु पपुलिस्ट र विचारविहीन भएको जिकिर गर्दै ती पार्टीहरुसँग नेसपाको साइनो नभएको बताइएको छ। नेपालमा अहिले चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीको नाम नलिइए पनि घोषणापत्रमा घुमाउरो पारामा सो पार्टीलाई ‘व्यक्तिको हित प्रवर्द्धन र स्वतन्त्रताको नाममा स्वच्छन्द संगठनात्मक नीति र आचरण देखाउने अराजकतावादी’ जिकिर गरिएको छ।
‘विश्वमा र नेपालमा वैकल्पिक राजनीतिको नाममा खोलिएका विचारविहीन पपुलिष्ट पार्टीहरुसँग पनि हाम्रो कुनै साइनो छैन। हामी न त व्यक्तिको हित प्रवर्द्धन र स्वतन्त्रताको नाममा स्वच्छन्द संगठनात्मक नीति र आचरण अपनाउने अराजकतावादी हौ न त सामूहिक हित प्रवर्द्धनको नाममा परम्परागत जनवादी केन्द्रीयताको नोकरशाही संगठनात्मक नीति र व्यवहार अपनाउने अधिनायकवादी हौं,’घोषणापत्रमा भनिएको छ।

‘त्यस्तै वैकल्पिकको नाममा विचार र कार्यदिशा बिनाको आवेग, आक्रोश र बदलाभाव राखेर चौतारीमा जम्मा भएका रोमान्टिक भीड पनि होइनौँ, हामी। अनि नयाँ बन्ने लहडमा जनसमुदायबाट कटेर कोठे गफ गरेर बस्ने क्लब पनि हैनौं। हामी त प्रत्येक सदस्यहरू सार्वभौम हुने समावेशी, समानुपातिक, सहभागितामूलक लोकतन्त्रलाई जीवन व्यवहारमा लागू गर्ने स्वैच्छिक समुन्नत समाजवादी हौँ’ घोषणापत्रमा उल्लेख छ।
पार्टीले ५ ‘स’ लाई मानेको छ
घोषणापत्रमा भनिएको छ,‘ समकालीन नेपाली समाज र राज्यका थुप्रै मध्ये पाँच प्रमुख अन्तरविरोध वा समस्याहरुलाई पहिचान र हल गर्ने पाँच साधन वा विधिलाई ‘५स’ को रुपमा परिभाषित गर्नु उपयुक्त हुन्छ।
ती ‘५स’ लाई पूरा गर्ने संकल्प वा प्रतिवद्धता नै पार्टीको मूल कार्यदिशा हो। लामो समयदेखि अल्पविकास, गरिबी, वेरोजगारीको दुष्चक्रमा फसेको देशलाई केही वर्षभित्र अल्पविकसित देशहरूको समूहबाट बाहिर निकाल्ने, १० वर्षभित्र मध्यम आयस्तर भएको देश बताउने, २५ वर्षभित्र विश्वका विकसित मुलुकहरूको हाराहारीमा समतामूलक समृद्धि हासिल गर्ने वैकल्पिक नयाँ शक्तिको रुपमा संगठित नेपाल समाजवादी पार्टीको पहिलो र प्रमुख संकल्प हो।
आदिवासी जनजाति, खस–आर्य र मधेसी–थारु, यी तीन जातीय क्लष्टर र महिला, दलित, मुस्लिम लागयत अन्य समूदायको समानुपातिक सहभागिता, प्रतिनिधित्व, पहुँच र एकताबाट इन्द्रेणी राष्ट्रियताको प्रवर्द्धन गर्ने र पहिचान र अधिकारसहितको संघीय ढाँचामा राज्यको पुनर्संरचना गर्ने पार्टीको दोस्रो सकल्प हो।
चौतर्फी भ्रष्टाचारको दलदलमा फसेको मुलुकमा सुशासन र सदाचार कायम गर्ने तेस्रो संकल्प हो। झण्डै डेढ डेढ अर्ब जनसंख्या भएका दुइ विशाल देशहरूको बीचमा रहेको र भूमण्डलीकृत पुँजीवादी विश्वसँग अभिन्न ढंगले गाँसिएको नेपालको स्वाधीनता र सार्वमौमसत्ताको रक्षा गर्ने यसको चौथो संकल्प रहेको छ।
साथै लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद अर्थात ‘समुन्नत समाजवाद’ को वैचारिक–राजनीतिक आलोकमा मुलुकलाई प्रगतिपथमा अगुवाइ गर्नु नेपाल समाजवादी पार्टीको पाँचौ संकल्प र मूल अभिष्ट हो। यी ‘५स’ एक अर्कामा अन्तरसम्बन्धित र पूरक छन् र तिनको समष्टीगत अभिव्यक्ति नै नेपाल समाजवादी पार्टीको आधारभूत विचार, नीति, कार्यक्रम र कार्यदिशा हो।’
Shares

प्रतिक्रिया