ad ad

राजनीति


प्रचण्डले गरे स्वयंसेवक परिचालनको घोषणा, माओवादीका युवा विद्यार्थी भने कीर्तिपुरमा भिड्दै

प्रचण्डले गरे स्वयंसेवक परिचालनको घोषणा, माओवादीका युवा विद्यार्थी भने कीर्तिपुरमा भिड्दै

नेपालखबर
असोज १५, २०८१ मंगलबार २०:८, काठमाडौँ

पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार बाढी प्रभावित क्षेत्रको अवलोकनमा निस्के।

काठमाडौँको बल्खुस्थित जागरण टोल सुकुम्बासी बस्तीबाट बाढीको वितण्डा नियाल्न सुरु गरेका प्रचण्डले त्यहीँबाट राहत र पुर्नस्थापनाका लागि स्वयंसेवक परिचालन अभियानको घोषणा समेत गरे। 

प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुर्नस्थापना र पुनर्निर्माणका काममा खटिन उनले स्वयंसेवकलाई निर्देशन समेत दिए। तर, केहीमाथि रहेको कीर्तिपुरस्थित त्रिवि स्मृति हलमा भने माओवादीका युवा विद्यार्थी भने होहल्ला र नाराबाजी गरिरहेका थिए। 

१० गतेदेखि सुरु भएको माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र रोकिएको भन्दै त्यसलाई सुचारु गर्नुपर्ने मागसहित सम्मेलनका केही प्रतिनिधिले नाराबाजी गरेका थिए।

सोमबार भने त्यहाँ हातहालाहाल र झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले नै हस्तक्षप गर्नु परेको थियो। त्यसपछि रोकिएको सम्मेलनको बन्दसत्र अझै सुरु हुन सकेको छैन्। 

क्रान्तिकारीमा विशेषगरी उमेर हद लागू गर्ने या नगर्ने भन्ने विषयमा विवाद भइरहेको छ। संगठनमा रहन र त्यसको नेता बन्न ३२ वर्ष वा त्यो भन्दा कम कति हदबन्दी तोक्ने भन्ने विषयमा प्रतिनिधिहरु पक्ष र विपक्षमा बाँडिएका छन्। 

त्यसलाई भोटिङबाटै समाधान गर्ने विधि तय गरिएको भए पनि त्यसका लागि प्रतिनिधि संख्या तय गर्ने विषयमा नै विवाद हुँदा बन्दसत्र अघि बढ्न नसकेको अखिल क्रान्तिकारीका निर्वतमान उपाध्यक्ष पवन कार्कीले जानकारी दिए।

विवाद समाधान गरेर भोलिसिम्म राष्ट्रिय सम्मेलन टुंग्याउने प्रयास हुने उनले जानकारी दिए।  ‘हात हालाहाल गर्ने र अराजकता मच्चाउने कुरा अहिले जो देखिएको छ, त्यो गलत भएको छ,’ उनले भने, ‘त्यस्ता गतिविधिलाई नियन्त्रण गर्ने कुरामा हामीले सचेत ढंगले छलफल गरेका छौँ।’

प्रचण्डले बल्खुबाट गरेको घोषणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न माओवादीले बाढी–पहिरोको केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘हेल्प डेक्स’ समेत सुरु गरेको छ।

तर, अभियानमा घटिनुपर्ने युवाहरू नै विवादमा अल्झिएपछि उनको घोषणा प्रभावहीन हुने देखिएको छ। 

यद्यपि अलिख क्रान्तिकारीका निर्वतमान उपाध्यक्ष कार्की अनौपचारिक रुपमा युवा विद्यार्थीहरूलाई अभियानमा खटाइसकेको र सम्मेलनपछि औपचारिकरुपमै खटिने दाबी गर्छन्।

‘राष्ट्रिय सम्मेलन अन्तिम चरणका पुगेको हुनाले सम्मेलनको हलबाट नै औपचारिक घोषणा गरेर जाने भनेका छौँ,’ उनले भने, ‘पार्टीले जे खालको स्वयंसेवक परिचालनको कुरा ल्याएको छ, त्यसमा सहयोग पुर्‍याउने भनेर अखिल क्रान्तिकारीका देशैभरीका साथीहरू जुट्ने भनेर अनौपचारिक रुपमा आन्तरिक निर्देशन दिइसकेका छौँ।’

माओवादीको विद्यार्थी संगठनको २ वर्षअघि भएको २२ औं राष्ट्रिय सम्मेलन समेत यस्तै विवादमा फसेको थियो। त्यतिबेला समेत विद्यार्थीहरू तोडफोडमा उत्रिएका थिए।

यस्तो स्थितिप्रति टिप्पणी गर्दै अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रहेका माओवादी नेता लेखनाथ न्यौपानेले खिन्नता प्रकट गरेका छन्। अहिले विद्यार्थी संगठनमा समेत उपभोक्तावाद, डन र धनवाद मौलाएको उनको निष्कर्ष छ। 

‘आवश्यकतालाई सम्बोधन गर्ने निर्णय र जिम्मेवारी होला भन्ठानेर एक वाक्य हुन्छ वा हुँदैन नभनी ०६० असारमा  जिम्मेवारी लिएको त्यो अवस्था,’ त्यो बेलाको स्मरणसहित न्यौपानेले फेसबुकमा लेखेका छन्, ‘तर आज संस्कार, अभ्यास र मूल्य पुरै भत्किए जस्तो, उपभोक्तावाद, डन र धनवाद मौलाएको जस्तो। आफैँले आफैलाई अब्बल राजा घोषणा गरेको र व्यवहार प्रस्तुत गरेको दृश्यले खिन्नताभित्र भिन्न अनुभूति भएकै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .