ad ad

राजनीति


देउवाले पूर्णबहादुरलाई दिन छाडे भाउ, बढ्दै छ दूरी

देउवाले पूर्णबहादुरलाई दिन छाडे भाउ, बढ्दै छ दूरी

सागर न्यौपाने
असोज ११, २०८१ शुक्रबार २०:४५, काठमाडौँ

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आउन अझै डेढ वर्ष बाँकी छ। सभापति शेरबहादुर देउवा तेस्रोपटक नदोहोरिने भएपछि उनको उत्तराधिकारी भएर मुलुककै पुरानो पार्टीको नेतृत्व हत्याउन केही नेता दौडधूपमा छन्।

१४ औँ महाधिवेशनमा देउवासँग पराजित शेखर कोइराला फेरि उठ्ने निश्चित छ। 

त्यसबाहेक, केन्द्रीय सदस्य डा. शशांक कोइरालाले पनि सभापति देउवा पक्षबाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। 

हाल उपसभापति रहेका पूर्णबहादुर खड्का स्वाभाविक रूपमै दाबेदार हुन् भने महामन्त्री गगन थापाले पनि भित्री तयारी तीव्र पारेका छन्। 

१५ औँ महाधिवेशनमा बलियो प्रतिस्पर्धी बन्न देउवाको आशीर्वाद पाउने प्रयासमा अधिकांश नेताहरू देखिन्छन्। त्यसैले उनीहरू सम्बन्ध सुधारेर देउवा निकट बन्ने कोसिस गरिरहेका छन्।

कोइराला र थापाले देउवालाई रिझाउन खोजिरहेको चर्चाका बीच उपसभापति खड्काकाे भने उनीसँग दूरी बढेको कांग्रेस नेताहरू बताउँछन्। देउवाको दाहिने हातका रूपमा चिनिएका उपसभापति खड्कालाई पछिल्लो समय सभापतिले भाउ दिन छाडेको चर्चा कांग्रेस वृत्तमा छ।

‘पूर्णबहादुर खड्का अहिले सभापतिसँग पहिला जस्तो निकट हुनुहुन्न,’ देउवानिकट एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘सरकारमा सेकेन्डम्यान भएर पनि माओवादी–कांग्रेस गठबन्धन भत्किँदा मिलाउन नसकेको भन्ने सभापति देउवालाई परेको छ। अझै उहाँको मन फर्किसकेको छैन।’

कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्ने उनी खुमबहादुर खड्काका कारण कांग्रेसको सहमहामन्त्री र महामन्त्री तहमा पुग्न सफल बनेका हुन्। 

खुमबहादुरको २०७४ मा निधन भयो। सभापति देउवाले पूर्णबहादुरलाई २०७५ वैशाख २१ मा  महामन्त्री मनोनीत गरेका थिए। त्यसयता देउवाका प्रियपात्र रहँदै आएका थिए उनी।

२०७८ मा सम्पन्न १४ औँ महाधिवेशनमा उनले उपसभापित जितेका थिए। त्यसपछि देउवा पक्षको रणनीतिक योजनाकार उनैलाई मान्ने गरिन्थ्यो। हरेक निर्णयमा देउवाले उनै खड्कासँग परामर्श गर्थे। 

अर्थात् पछिल्ला यी तीन वर्ष उनी शक्तिशाली थिए। त्यही भएर पार्टीभित्र मात्र होइन, गठबन्धन निर्माण वा अन्य पार्टीसँगको छलफलको जिम्मा उनैले पाए। 

२०७९ फागुनमा कांग्रेस–माओवादी गठबन्धन बनाउन खड्काको भूमिका महत्त्वपूर्ण थियो। २०७९ पुस १० मा एमाले, माओवादी, रास्वपा, राप्रपा लगायतको गठबन्धनलाई दुई महिनामै ढालेर कांग्रेसलाई सत्तामा पुर्‍याउन उनी सफल भए।  देउवाले खड्कालाई उपप्रधान एवं रक्षामन्त्रीसहित दोस्रो वरीयता दिएर सरकारमा पठाए। 

तर, २०८० फागुनमा कांग्रेस–माओवादी गठबन्धन भत्कियो। देउवाले उपसभापति खड्काकै कारण माओवादी बिच्किएको ठानेको ती नेता दाबी गर्छन्। उनले ल्याएको प्रतिवेदनकै कारण गठबन्धन टुटेको निष्कर्षमा देउवा छन्।  

कांग्रेसको २०८० फागुन ७ मा ललितपुरको गोदावरीमा महासमिति बैठक भएको थियो। फागुन ८ गते खड्काले नीति प्रतिवेदन पेस गरे। त्यसमा ‘कथित सशस्त्र हिंसा सुरु भएर ध्वंस र विध्वंस भएको’ उल्लेख गरिएको थियो। 

सत्तासाझेदार दललाई त्यसरी भनेपछि माओवादी र कांग्रेसको दूरी बढ्यो। जबकि, प्रचण्ड सरकारमा उनी उपप्रधानमन्त्री थिए।

फागुन २२ मा फेरि एमाले–माओवादी गठबन्धन बन्यो। 

‘प्रचण्डसँग सम्बन्ध टुट्नुको मुख्य कारण पूर्णजीको प्रतिवेदन हो, त्यो तहका नेताले सम्बन्ध बिग्रने गरी बोल्न, लेख्न नहुने हो,’ ती नेताले थपे।

अर्का केन्द्रीय सदस्यले त देउवाले पछिल्ला कुनै निर्णय गर्दा पनि पूर्णबहादुरसँग परामर्श नै नगरेको दाबी गरे।

‘सभापतिजीले रमेश लेखकलाई अगाडि सारिसक्नुभएको छ,’ ती नेताले भने, ‘कांग्रेस–एमाले गठबन्धन बनाउने मुख्य भूमिका लेखकले पाउनुको कारण त्यही हो।’

ती केन्द्रीय सदस्यले असार १८ गतेको एक घटना सुनाए। कांग्रेस पार्टी कार्यालयमा पुस्तकालय उद्घाटन कार्यक्रम थियो।

जहाँ माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका थिए। केहीबेर बसेर प्रचण्ड बाहिरिए। तर, ओली बसे। 

असार १७ गते मध्यराति कांग्रेस–एमाले गठबन्धन बनेको थियो। 

देउवाले महामन्त्री गगन थापालाई जानकारी दिन उनकै च्याम्बरमा बोलाए। ओलीसँगै राखेर नयाँ समीकरण बनेको ब्रिफिङ गरे। तर, पूर्णबहादुरलाई बोलाएनन्। 

‘पूर्णबहादुरजीलाई बाहिर राखेर गगनसँग छलफल गर्नुभएको मात्र होइन, त्यसयता महामन्त्रीलाई बढी भूमिका दिएको देखिन्छ,’ उनले भने।

देउवाको सबैभन्दा विश्वासपात्र बन्न सफल भएका खड्का देउवाको मन जितेर १५ औँ महाधिवेशनमा सभापति उठ्ने योजनामा छन्। तर, अहिलेकै अवस्थामा देउवाको साथ पाउन उनलाई निकै गाह्रो रहेको नेताहरू बताउँछन्। 

यद्यपि, अझै महाधिवेशन आउन केही वर्ष बाँकी रहेकोले देउवाको मन फर्काएर उनकै आधिकारिक उम्मेदवार हुने दाउमा उनी छन्।

पार्टी संगठनमा बलियो पकड राख्न नसकेको भन्दै उनको आलोचना हुन थालिसकेको छ। 

‘उहाँको आफ्नै व्यवहार सभापति जितिहाल्ने खालको छैन,’ देउवानिकट अर्का नेताले भने, ‘नेता÷कार्यकर्ताको विश्वास जित्न नसके सहयोग मात्र गरेर भएन।’

खड्काले कुनै मेहनत नै नगरेको ती नेता बताउँछन्। 

‘नेताहरूले आफ्नो माहौल बनाउनु पर्‍यो नि! भेटघाट गर्नुपर्‍यो। उपसभापति देशभर घुम्नुपर्‍यो, कार्यकर्ता भेट्नुपर्‍यो। आफ्नो भूमिका निभाउनुपर्‍यो,’ ती नेताले थपे।

केन्द्रीय सदस्य रामहरि खतिवडा देउवा र खड्काकोे सम्बन्ध राम्रो भइसकेको दाबी गर्छन्। 

‘त्यस्तो केही छैन, उहाँहरूले सल्लाह गरेरै काम गरिरहनु भएको छ,’ खतिवडाले भने, ‘अहिले बाहिर हल्ला फैलाउने काम भएको मात्र हो।’

कांग्रेस–माओवादी गठबन्धन भत्किएकोले खड्कामाथि आरोप लागेको उनी बताउँछन्। 

‘उहाँहरू सौहार्द्रपूर्ण रूपमा छलफल गर्नुहुन्छ। कतिलाई के लाग्यो भने, उहाँ (पूर्णबहादुर) प्रचण्ड नेतृत्वको सरकारमा जानुभएको, त्यो सरकार लामो समय टिकेन। नेतृत्व गर्नेको अपरिपक्कता हो कि भनेर यो कुरा भएको हुनसक्छ,’ खतिवडाले थपे, ‘अर्थमन्त्रीकै कारण पनि सम्बन्ध बिग्रेको भन्ने आएको थियो। त्यो होइन, अहिले राम्रो सम्बन्ध छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .