ad ad

राजनीति


यसपटक निर्वाचनबाट नेतृत्व चयन गर्दै अखिल क्रान्तिकारी, अध्यक्ष पदमा २० आकांक्षी

यी हुन् मुख्य दाबेदार
यसपटक निर्वाचनबाट नेतृत्व चयन गर्दै अखिल क्रान्तिकारी, अध्यक्ष पदमा २० आकांक्षी

नेपालखबर
असोज ९, २०८१ बुधबार १०:८, काठमाडौँ

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन असोज १०–१४ गतेसम्म काठमाडौँमा हुँदै छ।

‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन, रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि २३औँ राष्ट्रिय सम्मेलन’ मूल नाराका साथ सुरु हुने सम्मेलन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने अनेरास्ववियु अध्यक्ष पञ्चा सिंहले बताइन्।

उनका अनुसार सम्मेलन उद्घाटन त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा असोज १० गते हुनेछ। सम्मेलन तयारीको काम ९५ प्रतिशत पूरा भइसकेको क्रान्तिकारीले जनाएको छ। सम्मेलनमा देशभरबाट २३ सय २३ प्रतिनिधि सहभागी हुनेछन्।

अनेरास्ववियु (क्रान्तिकारी) ले यसपटक नेतृत्व निर्वाचनबाट चयन गर्ने अध्यक्ष सिंहको भनाइ छ। सम्मेलनले ३३ पदाधिकारीसहित २४३ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ।

जसमा अध्यक्ष, ९ उपाध्यक्ष, महासचिव, ९ उपमहासचिव, १२ सचिव र कोषाध्यक्ष गरी ३३ जना पदाधिकारी रहनेछन्। 

विद्यार्थी नेताहरूका अनुसार संगठनमा हाल रहेका १९ उपाध्यक्ष र एकजना महासचिवसहित २० जनाले अध्यक्ष पदमा दाबी गर्ने तयारी गरेका छन्।

वर्तमान उपाध्यक्षहरू पवन कार्की, मदन भुल, नरेश रेग्मी, इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, केशव रावल, नारायण खनाल तथा महासचिव दीपेश पुनलगायतका नेता अध्यक्षको आकांक्षी छन्।

एक नेताले नेपालखबरसँग भने, ‘स्वाभाविक रूपमा उपाध्यक्ष भइसकेका र महासचिवको जिम्मेवारी सम्हालिसकेको मान्छेको अध्यक्षमा दाबी रहने नै भयो तर अन्तिम समयमा आइपुग्दा ३/४ जनाबीच मुख्य प्रतिस्पर्धा हुनसक्छ।’

पार्टी पदाधिकारीकै समर्थन रहेका कारण उपाध्यक्षहरू पवन कार्की, नरेश रेग्मी, मदन भुल र महासचिव दीपेश पुनलाई अध्यक्षका बलिया प्रतिस्पर्धी मानिएको छ। माओवादीको विद्यार्थी संगठनमा पनि विभिन्न गुट छ। कार्कीलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अनि रेग्मीलाई उपाध्यक्ष पम्फा भुसाल र महासचिव देव गुरुङले समर्थन गरेको बताइएको छ ।

माओवादी उपमहासचिव जनार्दन शर्मानिकट मानिने भुल र उपमहासचिव वर्षमान पुनको समर्थन पाएका दीपेश पुन अध्यक्षका प्रमुख दाबेदार देखिएका छन्। दीपेश सहकारी र सुन प्रकरणलगायत घटनामा मुछिएका छन्।

सम्मेलन नजिकिएसँगै विद्यार्थी नेताहरूले उम्मेदवारी दाबी पेस गर्न थालेका छन्। केन्द्रीय अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष पवन कार्कीले आफ्नो उम्मेदवारी संगठनलाई विधि र विधानमा हिँडाउनका निम्ति भएको जिकिर गरेका छन्। 

उनले लिखित अपिल जारी गर्दै आफ्नो उम्मेदवारी विद्यार्थी आन्दोलनलाई प्रश्नहरूको नभई उत्तरहरूको आन्दोलन बनाउन भएको दाबी गरेका छन्।

नेपालखबरसँग कुराकानी गर्दै कार्कीले नेतृत्वका लागि नेताहरू वरिपरि रहने प्रवृत्ति त्यागेर आफूहरू परीक्षण भएरै नेतृत्वमा आउन चाहेको उल्लेख गर्दै यसपटक चुनावबाट नेतृत्व चयन गर्न लागिएको बताए।

उनले भने, ‘विद्यार्थी आन्दोलनको औचित्य पुष्टि हुनेगरी काम गर्ने नेतृत्व चाहिएको छ, त्यो काम आफूले गर्न सक्छु भनेर मैले आज उम्मेदवारी घोषणा गरेको छु।’

अध्यक्षका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै अर्का उपाध्यक्ष नरेश रेग्मी शर्माले विद्यार्थी आन्दोलनलाई नयाँ सिराबाट उठाउन र आन्दोलनका रचनात्मक आयाम विकास गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।

आफू सधैँ विश्वविद्यालय र क्याम्पसको शैक्षिक स्थिति सुधारका लागि लागिरहेको दाबी गर्दै आगामी दिनमा पनि निरन्तर लागिरहने शर्माले उल्लेख गरेका छन्।  

महासचिवका लागि हेमन्त राई, सुदिन पौडेल, नारायण बडाल, भीम भट्ट, सञ्जय काल्धन, प्रसुन कार्की, उपेन्द्र शाही, उपदेश यादवलगायत विद्यार्थी नेताको दाबी छ।

‘हेडक्वाटर’बाट आएका उम्मेदवार बलियो हुने र चुनिने सम्भावना रहने चर्चा पनि अनेरास्ववियु क्रान्तिकारीभित्र चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .