ad ad

राजनीति


भ्रष्टाचारविरुद्ध काम गर्न खोज्दा कांग्रेस-एमालेले सरकार परिवर्तन गरे: प्रचण्ड

भ्रष्टाचारविरुद्ध काम गर्न खोज्दा कांग्रेस-एमालेले सरकार परिवर्तन गरे: प्रचण्ड

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १२:३८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलनका कार्यक्रम अघि बढाइने बताएका छन्।

सिरहाको कर्जन्हा नगरपालिकामा आज आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटमा उनले त्यसकै लागि आफूहरु अहिले देशब्यापी बैठक र छलफलमा जुटेको बताए। 

पार्टीको मधेश प्रदेशस्तरीय परामर्श बैठकमा भाग लिने क्रममा सिरहा पुगेका प्रचण्डले मुलुकको अहिलेको ठूलो समस्या भ्रष्टाचार भएकाले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशब्यापी आन्दोलन गर्ने बताए।

‘तपाइँहरुले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो’, प्रचण्डले भने, ‘हामीले सरकारको नेतृत्व गर्दा केही नयाँ काम सुरु गरेका थियौँ। सुशासनका पक्षमा र भ्रष्टाचारकाविरुद्ध हामीले थालेका अभियानबाट भूमाफियाहरु आत्तिए। जसले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने अपराध गरिरहेका थिए, उनीहर छट्पटाए।’

मिटरब्याज लगायत तमाम बेथितिका विरुद्ध आफूहरुले सरकारबाट सङ्कल्पका साथ संघर्ष सुरु गरेको स्मरण गर्दै उनले भने, ‘त्यसबाट दलाल, सामन्तवादका अवेशष, भूमाफिया र नोरकाशहरु हामीसँग आतंकित भए। माओवादी केन्द्रका नेताहरुले विस्तारै हामीलाई त खतमै पार्ने भए भनेर भ्रष्टाचारी जति सबै डराए।’

कांग्रेस र एमालेलाई आफ्नो नेता ठानेर भ्रष्टाचारी र बिचौलियाले जुटाइदिएको आरोप लगाउँदै प्रचण्डले सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध लडाई लडेकाले आफूहरु बिजेता कमाण्डरजस्तो गरी निस्केको तर्क गरे। 

‘तर, कांग्रेस-एमाले कायरजस्तो गरी सरकारमा गए,’ उनले भने,  ‘अब हामी पार्टी सुदृढ गरेर देशैभरि पार्टी पुनर्गठन गर्दै बलियो पार्टी बनाएर भ्रष्टाचारका विरुद्ध तलैबाट आन्दोलन सिर्जना गर्ने सोंचमा छौं । पहिले पार्टी बलियो बनाउने र बलियो पार्टीका आधारमा देशब्यापी रुपमा भ्रष्टाचारविरोधी आन्दोलन सुरु गर्ने सोचिएको छ।’

आफ्नो पार्टीले अघि सारेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक एजेण्डाप्रति मधेशी जनसमुदायको अपार विश्वास भएको उल्लेख गर्दै उनले यो विश्वासलाई कमजोर हुन नदिएर सोहीअनुसार पार्टी संगठन र नेतृत्व स्थापित गरेर जाने प्रतिबद्धता व्यक्त गरे। 

पार्टीलाई मधेशमा थप एकताबद्ध र सुदृढ बनाउँदै पहिलो पार्टीको रुपमा स्थापित गर्ने दाबी गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारमा सशक्त हस्तक्षेप बढाउन पनि मधेश प्रदेशको महत्वपूर्ण भूमिका रहने बताए। 

आज बिहान पनि अध्यक्ष प्रचण्डले गोलबजार र मिर्चैयाका पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँग छलफल गरेका थिए। हिजो साँझदेखि सप्तरीहुँदै मधेश प्रदेश प्रवेश गरेका अध्यक्ष प्रचण्ड आज र भोलि मधेशमै रहने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .