ad ad

राजनीति


उपसभामुखमाथि ‘झुटो’ आरोप लगाइयो, कांग्रेस–एमालेको अन्तिम भोज हो : रास्वपा

उपसभामुखमाथि ‘झुटो’ आरोप लगाइयो, कांग्रेस–एमालेको अन्तिम भोज हो : रास्वपा

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १२:४१, काठमाडौँ

सत्तापक्षले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ।

‘पदअनुकूल आचरण नगरेको’ भन्दै उपसभामुखलाई हटाउने प्रस्ताव दर्ता गर्ने सत्तापक्षको तयारीका बारेमा रास्वपाले आफ्नो धारणा तय गर्न परामर्श पनि थालेको छ। 

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले उपसभामुखमाथि लगाइएको आरोप झुटो भएको बताएका छन्। संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउनका लागि झुटो मुद्दा लगाएर हटाउने प्रस्ताव दर्ता हुन लागेको भन्दै उनले यसलाई ‘प्रधानमन्त्री केपी शर्मा ओलीको उग्र राजनीतिक अभ्यास’ भनेर टिप्पणी गरे। 

‘कांग्रेसलाई मोहोरा बनाएर ओलीले उग्र राजनीतिक अभ्यासको प्रयास गरेका हुन्। कुण्ठाको राजनीतिक अभ्यास हो। नेपाली कांग्रेस त्यो गठबन्धनमा छ, उसलाई संवैधानिक परिषद्‌मा तिम्रो उपस्थिति छैन, त्यसकारण त्यसको उपस्थितिका लागि यसलाई बलिको बोका बनाऔँ भनेर प्रयास गरेको छ,’ उनले भने। 

उपसभामुख रानाले भिसाका लागि नभएर अन्तर्वार्ताको समयका लागि सिफारिस गरेको र उक्त सिफारिस पत्र अमेरिकी दूतावासमा समेत दर्ता नभएको दाबी गरे। 

‘त्यो अन्तर्वार्ता मितिको लागि अनुरोधपत्र थियो। भिसाको सिफारिस पनि थिएन। त्यो अमेरिकी दूतावासमा दर्ता नै भएको रहेनछ। कार्यान्वयन नै भएको रहेनछ,’ झाले थप प्रष्ट पार्दै भनेका छन्, ‘मिटरब्याजीको कथा अब सकिन्छ। मैले योगदान गरेको, लगानी गरेको भन्दै पटकपटक ब्याज खान खोज्ने राजनीतिक अभ्यास अब सकिन्छ। यो अब उहाँहरूको अन्तिम भोज हो।’

प्रवक्ता झाको भनाइ जस्ताको तस्तैः
उदार लोकतन्त्र, बजारको अर्थतन्त्रको व्याख्या उहाँहरूले आफ्नो पार्टीको घोषणापत्रदेखि सिद्धान्तमा पनि लेख्नुभएको छ। नेपाली कांग्रेसका महामन्त्रीहरूले उदार लोकतन्त्र र अर्थतन्त्रको व्याख्या विभिन्न फोरममा पनि गर्दै हिँड्नुहुन्छ। तर, यो त सबै खोक्रो भाषण मात्रै रहेछ। नयाँ दल आउँदैमा सबै उदारता खोक्रोपनमा परिणत भइसक्यो। 

आफ्नो पार्टीको उपसभामुखले १५ करोड अपचलन गरेको प्रमाणित भइसक्दा पनि बोल्न नसक्ने नेताहरू कतै प्रमाणित नभएको कुराहरूमा हामीलाई दुई महिनासम्म सदनको नीति तथा कार्यक्रमदेखि बजेटसम्म सबै अवरोध गरेर लोकतान्त्रिक संसदीय अभ्यान नै गर्न नदिने गरी हाम्रो पछि लागे। गोर्खा मिडियाले सहकारीको पैसा जीबी राईले अपचलन गरेको भन्ने कुरा सबैलाई थाहा छ। हामीले पनि त्यो स्वीकारेकै हो नि। तर, जीबी राईले गरेको भन्दैमा, अहिले धनराज गुरुङले अपचलन गरेको भन्दैमा शेरबहादुर देउवा र गगन थापाले पनि त्यसको अंश लियो? उपसभापतिले पैसा लिएको कुरा महामन्त्रीलाई कसरी थाहा भएन भनेर हामीले प्रश्न उठाउन सक्छौँ। जीबी राईले पैसा लिएको रवि लामिछानेलाई कसरी थाहा भएन भन्ने कुरा भनेर प्रश्न उठाउनेले आज धनराले पैसाल लुट्दै गर्दा महामन्त्रीलाई कसरी थाहा भएन? यो प्रश्न त हामी उठाउन सक्छौँ। 

त्यसको जवाफदेहिता खोइ? त्यो त प्रमाणित नै भइसक्यो। संसदीय समितिमा सबै सहकारीको छानबिन गरौँ भन्दैगर्दा नाम नलेख्ने भनेर किन भन्नुभयो भने आज थाहा भयो नि। किनभने बाँकीमा त उहाँहरू फस्नुभएको रहेछ। आज सुन्दै थिएँ, गगन थापाको पुरानो साझेदारले बनाएको एउटा पबमा सूर्यदर्शन सहकारीको पैसा रहेछ। उहाँको साझेदारले बनाएको पबमा अर्को साझेदारको पनि पनि रैछकि भन्ने प्रश्न त उठ्यो नि। उपसभापतिले लिएको पैसा महामन्त्रीलाई किन थाहा भएन?

संवैधानिक परिषद्‌मा बहुमत पुर्‍याउन, झुटो मुद्दाको आधारमा उपसभामुखलाई महाअभियोगको तयारी हुँदै छ भनेर सुन्दै छु। त्यो आज आएर कांग्रेसलाई मोहोरा बनाएर ओलीले उग्र राजनीतिक अभ्यासको प्रयास गरेको हो। कुण्ठाको राजनीतिक अभ्यास हो। नेपाली कांग्रेस त्यो गठबन्धनमा छ, उसलाई संवैधानिक परिषद्मा तिम्रो उपस्थिति छैन, त्यसकारण त्यसको उपस्थितिका लागि यसलाई बलिको बक्रा बनाऔँ भनेर प्रयास गरेको छ। त्यसमा नेपाली कांग्रेसले सहमति दिइसक्यो। उदार लोकतन्त्रको अभ्यास त देखिहाल्यौँ नि। झुटो मुद्दा बनाएर त्यो पनि सिफारिसको हस्ताक्षर मितिको लागि, अन्तर्वार्ता मितिको लागि अनुरोधपत्र थियो। भिसाको सिफारिस पनि थिएन। त्यो अमेरिकी दूतावासमा दर्ता नै भएको रहेनछ। कार्यान्वयन नै भएको रहेनछ। त्यसलाई आधार बनाएर यता ७० करोड, वाइडबडी खानेलाई, शरणार्थी बेच्नेलाई, ७० बिगा जमिन खानेलाई उहाँले त्यो मुद्दा लगाउनुपर्ने देख्नुभएन। तर, एउटा (अन्तर्वार्ता) मितिका लागि अनुरोध गरिएको हस्ताक्षरको पत्र जुन दर्ता भएकै छैन, त्यो पत्रको आधारमा जुन महाअभियोगको चर्चा गर्दै हुनुहुन्छ, पाको नेताहरूले हाम्रो लागि जुन राजनीतिक योगदान दिनुभयो, त्यसको लागि सम्मान छ। तर, मिटरब्याजीको कथा अब सकिन्छ मैले योगदान गरेको, लगानी गरेको भन्दै पटकपटक ब्याज खान खोज्ने राजनीतिक अभ्यास अब सकिन्छ। यो अब उहाँहरूको अन्तिम भोज हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .