ad ad

राजनीति


न्युयोर्कमा पनि ओली–मोदी भेटवार्ता हुने सम्भावना क्षीण

न्युयोर्कमा पनि ओली–मोदी भेटवार्ता हुने सम्भावना क्षीण

नेपालखबर
भदौ २४, २०८१ सोमबार २२:१०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न आतुर छन्। आफूले भारत भ्रमणको निम्तो नपाए पनि प्रधानमन्त्री ओलीले दुईदुईपटक भारतीय समकक्षी मोदीलाई निम्तो दिएबाटै यो कुरा प्रष्ट हुन्छ। 

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीमार्फत् मोदीलाई पठाएको निम्तोको जवाफ प्राप्त नभएपछि ओलीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामार्फत् दोस्रो निम्तो पठाएका थिए। 

तर, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो भने पठाउन जरुरी देखेनन्। ओली सरकारकी परराष्ट्रमन्त्री डा. राणालाई राष्ट्राध्यक्ष र सरकार प्रमुखसँग भेट गर्ने नयाँदिल्लीस्थित हैदरावाद हाउसमा स्वागत गरेका मोदीले ओलीलाई नयाँदिल्ली निम्त्याउने इच्छा जाहेर गरेनन्।

मोदीले आफूप्रति गरेको यस्तो व्यवहारको चिडचिडाहट ओलीले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन हस्तान्तरणका लागि मोदीले समय उपलब्ध नगराएको सन्दर्भमार्फत् व्यक्त गर्न थालेका छन्। 

यद्यपि, मोदीसँग भेट गरिछाड्ने ओलीको प्रयास भने जारी छ। असोज पहिलो साता न्युयोर्कमा हुने राष्ट्रसंघीय महासभाको साइडलाइनमा भेटको प्रबन्ध मिलाउन ओलीले परराष्ट्रमन्त्री डा. राणा देउवालाई निर्देशन दिइसकेका छन्। 

तर, न्युयोर्कमा पनि प्रधानमन्त्री ओलीको भारतीय समकक्षी मोदीसँग भेट हुने सम्भावना क्षीण रहेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ। 

राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री ओली असोज पहिलो साता न्युयोर्क जाँदैछन्। ओली न्युयोर्कमा रहेकै बेला मोदी पनि अमेरिकामा हुनेछन्। 

राष्ट्रसंघीय फोरमका लागि अमेरिका पुगे पनि ओली र मोदीका प्राथमिकता फरक–फरक छन्। मोदी मूलतः अमेरिका, भारत, अस्ट्रेलिया र जापान संलग्न चार राष्ट्रहरुको समूह (क्वाड) को विल्मिङ्टन (अमेरिका) मा हुने बैठकका लागि अमेरिका जान लागेका हुन्।

ओली भने राष्ट्रसंघीय महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी न्युयोर्क पुग्नेछन् र महसभालाई सम्बोधन गर्नेछन्। 

त्यसबाहेक ओली राष्ट्रसंघले असोज ६ र ७ का लागि आयोजना गरेको समिट अफ द फ्युचरमा सहभागी हुने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री मोदी पनि सो समिटमा सहभागी हुने बताइएको छ। 

राष्ट्रसंघीय महासभामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भने विदेशमन्त्री एस. जयशंकरले गर्नेछन्। 

त्यसैले, ‘समिट अफ द फ्युचर’ मा सम्बोधनका लागि न्युयोर्क पुगेका बेला भारतीय समकक्षी मोदीसँग भेटको अपेक्षा प्रधानमन्त्री ओलीले गरेका छन् र त्यसको प्रबन्ध मिलाउन परराष्ट्रमन्त्री डा. राणा देउवालाई आग्रह गरेका हुन्। 

परराष्ट्र स्रोतका भनाइमा, समिटमा नेपालको तर्फबाट प्रधानमन्त्री ओली सहभागी हुने पक्काजस्तो भए पनि भारतीय प्रधानमन्त्री आइहाल्ने टुंगो भने लागिसकेको छैन। 

‘समिटमा विभिन्न खालका डकुमेन्टहरु पेस हुँदा रहेछन्, ती डकुमेन्टका आधारमा मुलुक विशेषबाट कुन तहको अधिकारी सहभागी हुने भन्ने निर्णय हुँदो रहेछ,’ स्रोतले भन्यो, ‘तर, अहिलेसम्म ती डकुमेन्टहरु अन्तिम रुपमा टुंगो लागेका छैनन्।’

ती अधिकारीका भनाइमा समिटमा कस्ताकस्ता डकुमेन्ट पेस हुन्छन्, त्यसका आधारमा भारतको तर्फबाट समिटमा कसले नेतृत्व गर्ने भन्ने कुराको टुंगो लाग्नेछ।  

‘खासमा मोदी क्वाड बैठकका लागि अमेरिका जान लागेका रहेछन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘मोदीको सहभागिताको निर्णय त्यहाँ पेस हुने डकुमेन्टका आधारमा हुने भएकाले आजका मितिसम्म मोदी समिटमा सहभागी हुन्छन् नै भन्न सकिने स्थिति छैन।’ 

मानौँ, समिट अफ द फ्युचरमा सहभागिताका लागि मोदी न्युयोर्क पुगे। यो स्थितिमा पनि ओली–मोदीबीच भेटवार्ताको सम्भावना किन कम देखिन्छ भने उनी एकरात मात्र बस्ने गरी न्युयोर्क पुग्नेछन्।

यति छोटो अवधिका लागि न्युयोर्कमा रहने मोदीले ओलीसँग भेटघाटको समय निकाल्छन् भन्ने विश्वास मोदी–ओलीबीचको अहिलेको सम्बन्धलाई नजिकबाट बुझेका परराष्ट्र मन्त्रालयका राजनीतिक–प्रशासनिक दुवै तर्फका अधिकारीहरुलाई छैन। 

‘ओलीका लागि समय निकाल्न मोदी इच्छुक छन् भने नयाँदिल्ली वा काठमाडौँमै भेटिहाल्छन् नि,’ जानकार स्रोतले भन्यो, ‘भेटघाट गर्ने इच्छा भए मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिन्थे होलान् वा ओलीको निम्तो मानेर उनी आफैँ नेपाल भ्रमणमा आउँथे होलान्।’   

तर, मोदीले न ओलीलाई भारत भ्रमणको निम्तो दिएका छन्, न त ओलीले दिएको निम्तोप्रति सकारात्मक जवाफ नै दिएका छन्। 

परराष्ट्रमन्त्री डा. राणा देउवाले ओलीको निम्तो बुझाउँदा मोदीको रेस्पोन्स त्यति सकारात्मक नरहेको चर्चा परराष्ट्र मन्त्रालयको उच्च तहमा चल्ने गरेको छ।

‘परराष्ट्रमन्त्री डा. राणा देउवाले ओलीले पठाएको निम्तो बुझाएपछि मोदीले भ्रमणको ‘सूचीमा राख्नू’ भन्नेमात्र निर्देशन दिएका रहेछन्,’ स्रोतले भन्यो, ‘कूटनीतिक दृष्टिले हेर्दा भ्रमणको ‘तयारी गर्नू’ र ‘सूचीमा राख्नू’ भन्ने कुरामा निकै ठूलो भिन्नता छ। ‘सूचीमा राख्नू’ भन्नुको अर्थ उनी तत्काल नेपाल भ्रमण गर्न इच्छुक छैनन् भन्ने हो।’ 

प्रधानमन्त्रीले दिएको निर्देशन मान्नै प¥यो। तर, ओली–मोदीबीच भेटवार्ता गराउने प्रयास सफल होला भन्ने आशा परराष्ट्र मन्त्रालयका अधिकारीहरुमा निकै कममात्र छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .