ad ad

समाज


मेलम्ची आयोजनामा भ्रष्टाचार ठहर, पूर्वसचिव ठाकुरका भागमा १० करोड

मेलम्ची आयोजनामा भ्रष्टाचार ठहर, पूर्वसचिव ठाकुरका भागमा १० करोड

नेपालखबर
भदौ २४, २०८१ सोमबार २२:१०, काठमाडौँ

विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अभियुक्तमध्ये १७ अभियुक्तमध्ये पूर्वसचिव गजेन्द्र ठाकुरसहित तीन कर्मचारी, एक परामर्शदाता र ठेकेदारलाई दोषी ठहर गरेको छ।

मेलम्ची खानेपानी विकास समिति (बोर्ड)का तत्कालीन अध्यक्षका हैसियतले उनले गरेका निर्णयबाट ठूलो नोक्सानी पुगेको विशेष अदालतको ठहर छ। उनका नाममा १० करोड १० लाख ६१ हजार रूपैयाँ बिगो ठहर भएको छ।

विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले पनि १० करोड १० लाख ६१ हजार रूपैयाँ नै भ्रष्टाचार गरेको अदालतको ठहर छ। यस्तै अर्का कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र परामर्शदाता शिवकुमार शर्माका भागमा २ करोड ९५ लाख ६५ हजार परेको छ।

यस्तै ठेकेदारहरूका नाममा पनि बेग्लाबेग्लै बिगो किटान गरिएको छ।

पूर्वसचिवहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेललगायतले सफाइ पाएका छन्। सहसचिव रुद्रसिंह तामाङले पनि सफाइ पाएका छन्।

मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, लेखा उपसचिवहरू मणिभद्र न्यौपाने, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपाने र लेखा उपसचिव केदारप्रसाद अर्यालले सफाइ पाएका छन्।

परामर्शदाता इप्टिसा सर्भिस डे इन्जिनियर्स एसएल र बीईटीएस कन्सलटिङ सर्भिसेज लिमिटेड जेभी तथा निर्माण व्यवसायी सीएमसी डी राभेना पनि दोषी ठहर भएका छन्।

दोषी ठहर भएका अभियुक्तहरूलाई असोज ७ गते सजाय तोकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .