ad ad

राजनीति


गठबन्धन बैठकमा संविधान संशोधनबारे छलफल

गठबन्धन बैठकमा संविधान संशोधनबारे छलफल

नेपालखबर
भदौ २४, २०८१ सोमबार २०:४, काठमाडौँ

सत्ता गठबन्धनको बैठकमा संविधान संशोधनबारे छलफलले प्रवेश पाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषयमा गृहकार्य गर्ने प्रस्ताव राखेका हुन्।

सत्ता गठबन्धनभित्र संविधान संशोधनका विषयमा फरकफरक धारणा छन्। यसमा एकरूपता कायम गर्ने विषयमा विभिन्न दलका नेताहरूले धारणा राखेको र थप बृहत् छलफल गर्ने समझदारी बनेको बैठकमा सहभागी जसपा नेता मोहम्मद इस्तियाक राईले नेपालखबरलाई जानकारी दिए।  

नेपाली कांग्रेस र नेकपा एमालेबीच सातबुँदे सहमतिमा राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने विषय पनि राखिएको थियो। कांग्रेस–एमाले गठबन्धनको मुख्य राजनीतिक आधार पनि यसैलाई बनाइएको थियो। तर, सरकार बनेको दुई महिना बित्न लाग्दासम्म गठबन्धनमा यसबारे थप छलफल र गृहकार्य गरिएको थिएन।

सरकार गठन भएको झण्डै दुई महिनापछि पहिलोपटक सत्तारूढ दलहरूको बैठक बसेको हो। गठबन्धनमा एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन्।

बैठकमा सहभागी हुन नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन कुमार थापा सहभागी थिए। 

यसअघि आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। सोही छलफलअनुसार सत्तामा रहेका दलहरूको बैठक बोलाइएको हो।

आइतबार मात्र कांग्रेस र एमालेले सरकारका न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल बनाउने सहमति गरेका छन्।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशरण महत रहनेछन्। यस्तै एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल हुने भएका छन्।

असार १७ गते मध्यराति कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सत्ता सहकार्य गर्ने सहमति भएको थियो। असार ३१ गते ओलीको नेतृत्वमा सरकार गठन भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .