ad ad

राजनीति


भीम रावलले छाड्दा एमालेलाई धक्का लाग्छ : शेरबहादुर कुँवर, एमालेमै सक्रिय गराएर पार्टी जोगाउनुपर्छ : झपट रावल

ओली उपेक्षा र माधव मायाको दोसाँधमा भीम रावल
भीम रावलले छाड्दा एमालेलाई धक्का लाग्छ : शेरबहादुर कुँवर, एमालेमै सक्रिय गराएर पार्टी जोगाउनुपर्छ : झपट रावल

केपी ओली, भीम रावल र माधव नेपाल


गोकुल जोशी
भदौ २०, २०८१ बिहिबार ९:५०, कञ्चनपुर

कुनै बेला एमाले राजनीतिको केन्द्रमा हुन्थे- नेता डा. भीम रावल। उपप्रधान, गृह तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन् उनी।

तर उनै रावल गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा अछामबाट टिकट नपाएपछि अहिले नेकपा एमालेमा निष्क्रिय छन्। १०औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीविरुद्ध प्रतिस्पर्धामा उत्रिएपछि एमालेभित्र रावलको खेदाइ सुरु भयो।

पार्टीमा जिम्मेवारीविहीन बनाइएपछि रावलले केही महिनाअघि निराश हुँदै राजनीतिक जीवनमा गम्भीर मोड आएको बताएका थिए।

‘एउटा घुम्तीमा पुगेजस्तो मैले महसुस गरेको छु। हामी सबैलाई थाहा छ- हाम्रो सामान्य जीवनमा पनि हिँड्दै जाँदा घुम्तीमा पुग्यौँ भने त्यो अर्को मोडमा मान्छे लाग्छ’, वैशाख १३ गते काठमाडौँमा रावलले भनेका थिए।

एमालेमा छायामा पारिएका रावललाई नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीमा आउन आग्रह गरिरहेको छ। तर रावलले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

एमाले फुट्नुपहिले माधवकुमार नेपालका विश्वास पात्र मानिने रावल एमालेभित्र एउटा बलियो शक्ति थिए। 

तर २०७८ भदौ ९ गते एमाले फुटाउँदै नेकपा एकीकृत समाजवादी गठन गर्दा रावलले एकाएक माधव नेपालको साथ छाडे। १० बुँदे सहमति गर्दै रावलसहित माधवपक्षीय १० नेता एमालेमै रहे।

सुदूरपश्चिममा रावलनिकट मानिने कतिपय नेता पनि एमाले छाड्दै एकीकृत समाजवादीतिर लागे। त्यसपछि भएको एमालेको १०औँ महाधिवेशनमा ओली १८०८ मतका साथ अध्यक्षमा विजयी हुँदा रावलका पक्षमा २३३ मत मात्र परे। 

पार्टी फुटेपछि रावलले एमालेभित्र ९औँ महाधिवेशनको शक्ति पनि जोगाउन सकेनन्। अध्यक्षमा ओलीसँग भिडेपछि अछामको टिकट खोसिएका रावल एमालेभित्र शक्तिहीन हुँदै गए। सोही कारण पनि सुदूरपश्चिममा यसपटक एमाले प्रतिनिधि सभामा २ सिटमा सीमित भयो।

यसैबीच एकीकृत समाजवादी भने ओलीका कटु आलोचक तथा राष्ट्रियताको मुद्दामा खरो अभिव्यक्ति दिने रावललाई भित्र्याएर पार्टीलाई सशक्त बनाउने दाउमा छ। 

रावललाई एकीकृत समाजवादीमा ल्याउन पाए सुदूरपश्चिममा एमालेलाई ठूलो धक्का दिन सकिने र देशभर नै पार्टीको उचाइ बढ्ने आकलन यसका नेताहरूले गरेका छन्। 

‘हिजो एमालेमा विद्रोह गर्दा उहाँ माधव कुमार नेपालसँगै हुनुहुन्थ्यो। अन्तिममा एमालेमै बस्नुभयो। तर केपी शर्मा ओलीले रावललाई कुनै स्थान दिनुभएन। उहाँजत्तिको मान्छे भूमिकाविहीन हुनु राम्रो होइन’, नेकपा एकीकृत समाजवादीका सचिव शेरबहादुर कुँवर भन्छन्, ‘उहाँसँग मनमिल्ने धेरै मान्छे यता छन्। एमालेमा निष्क्रिय रहनुभन्दा उहाँजत्तिको योग्य, अनुभवी नेता हाम्रो पार्टीमा आएर सक्रिय हुँदा राम्रै हुन्छ।’

भीम रावल एकीकृत समाजवादीमा आए पार्टी पनि सबल र सुदृढ बन्ने उनको विश्वास छ। 

‘सुदूरपश्चिम प्रदेश उहाँको गृह प्रदेश पनि भएकाले अझै पनि उहाँलाई सम्मान गरेर उहाँको नेतृत्वमा धेरै नेता कार्यकर्ता काम गर्छन्’, उनी अघि भन्छन्, ‘यता आउनुभयो भने सुदूरपश्चिममा एमालेलाई ठूलो धक्का लाग्ने मात्रै होइन्, राष्ट्रिय लिडर पनि भएकाले देशभर पनि पार्टीको संगठन राम्रो हुन्थ्यो।’

रावलले भने अहिलेसम्म एकीकृत समाजवादीमा प्रवेश गर्ने कुनै संकेत देखाएका छैनन्। नेकपा एकीकृत समाजवादी पार्टीको भविष्य नै अन्योलमा रहेको अवस्थामा रावलले त्यो कदम नचाल्ने एमालेका एक नेता दाबी गर्छन्। 

‘त्यहाँ पदाधिकारीसहित नयाँ कमिटी बनिसकेको छ। एकीकृत समाजवादी पार्टीको भविष्य के हुन्छ भन्ने एकिन छैन’, ती नेताले भने, ‘यस्तो अवस्थामा उहाँ (रावल) जत्तिको नेताले जोखिम उठाउनुहुन्छ भन्ने लाग्दैन।’

एमाले नेता झपट रावल भने भीम रावललाई जिम्मेवारीविहीन बनाउँदा पार्टीलाई घाटा भइरहेको बताउँछन्।

‘उहाँलाई निष्कृय राख्नुनपर्ने हो। यसले पार्टी आन्दोलनलाई घाटा गरेको छ’, उनले भने, ‘उहाँलाई पार्टीमा सक्रिय भूमिका दिएर पार्टी आन्दोलनलाई जोगाउनुपर्छ।’

यो पनिसमाजवाद आउला भनेर एमालेमा ५० वर्ष बिताएँ, अब विकल्प सोच्दैछु : भीम रावल (अन्तर्वार्ता)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .