ad ad

राजनीति


फलोअर्स स्वात्तै घटेपछि ओलीको स्टाटस: एकछिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता छैन

फलोअर्स स्वात्तै घटेपछि ओलीको स्टाटस: एकछिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता छैन

प्रधानमन्त्री केपी शर्मा ओली, एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा र काठमाडौँ महानगरका मेयर बालेन


नेपालखबर
भदौ १९, २०८१ बुधबार १८:४३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले केही दिनअघि ८ वर्षदेखि एक नाबालिकालाई घरेलु कामदारका रूपमा शोषण र हिंसा गर्ने नेकपा एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई २ महिनादेखि कारबाही गर्न अनुरोध गर्दा पनि सरकारले नसुनेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखे। 

प्रदेश सांसद शर्माको तस्बिरसहित उनले लेखेका थिए, ‘उहाँ हुनुहुन्छ- नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एकजना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनुभन्दा पनि यो सरकारले समाएको छैन।

अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला।’

बालेनको उक्त स्टाटस २ दिनपछि फेसबुकले हटायो। ‘मास रिपोर्ट’मा परेर उनको त्यो स्टाटस रिमुभ भएको थियो।

यसरी फेसबुकलाई रिपोर्ट गरेर उक्त स्टाटस हटाउन लगाउने उनै प्रधानमन्त्री ओली र उनको पार्टी एमालेका कार्यकर्ता भएको आरोप लगाउँदै  बालेनका समर्थक (फ्यान) ले  ओलीविरुद्ध फेसबुकमा ‘अनफलो’ अभियान चलाइरहेका छन्। 

जसका कारण मंगलबारसम्म केपी शर्मा ओलीको फेसबुक पेजको फलोअर्स ६ लाख ६६ हजार रहेकामा एकदिनमै ७७ हजार घटेर बुधबार यो खबर लेख्दासम्म ५ लाख ८९ हजारमा झरेको छ।    

तर यस विषयमा अहिलेसम्म प्रधानमन्त्री ओली तथा उनको सचिवालयले बालेनविरुद्ध सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन्।

यसैबीच बुधबार अपराह्न भने एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यो विषयमा आफ्नो पुरानो भिडिओ क्लिप्ससहित एउटा अप्रत्यक्ष पोस्ट गरेका छन्। 

त्यसमा उनले स्टाटस लेखेका छन्, ‘एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता छैन। सत्यबाहेक अरू केहीको पनि आयु लामो हुँदैन।’ 

अनि पुरानो भिडिओ क्लिप्समा उनी भनिरहेका छन्, ‘मलाई पनि थुप्रै साथीहरूले भेट्दाखेरि जवान नै देखिनुहुन्छ भन्छन्। तर त्यसमा पत्याइहाल्नुपर्ने जरुरी छैन। भन्दाखेरि त भर्खरको देखिनुहुन्छ भन्छन्, कसैले भर्खरको, एकदम तन्दुरुस्त र जवान देखिनुहुन्छ भनेर साथीहरूले उल्क्याउँछन्। तर म ऐना त हेर्छु नि- कति मलाई उल्क्याएको हो, कति साँचो त हो भनेर। ऐनाले सबै कुरा बताइहाल्छ नि!’

हेर्नुहोस् प्रधानमन्त्रीको ओलीको भिडिओसहितको स्टाटस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .