ad ad

राजनीति


काठमाडौं जिल्ला प्रशासनले भन्योः अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कनू

काठमाडौं जिल्ला प्रशासनले भन्योः अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कनू

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ५:३४,

अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस फैलिन सक्ने जोखिम भएको भन्दै स्थानीय प्रशासनले काठमाडौंका बासिन्दालाई अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै अर्काे निर्णय नहुन्जेलसम्मका लागि काठमाडौंका बासिन्दालाई अत्यावश्यक काम परेका बेलाबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको जानकारी दिए।

‘बुधबार जिल्ला सुरक्षा समन्वय समितिको बैठक राखेर तत्काललाई काठमाडौंमा कुनै पनि सभा/समारोह/ठूलो जमघट नगर्न/नगराउन तथा भिडभाडमा नजान काठमाडौंका नागरिकलाई आग्रह गर्ने निर्णय गरेका छौं,’ बिहीबार बिहान नेपालखबरसँग कुरा गर्दैै प्रमुख जिल्ला अधिकारी दाहालले भने।

उनले थपे, ‘अर्काे निर्णय नहुन्जेल अब कुनै पनि सभा/समारोहका लागि अनुमति माग्न आएकालाई पनि हामीले अनुमति दिएका छैनौं।’

स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनसमेतको निर्णय र आग्रहअनुसार यस्तो निर्णय गरिएको उनले बताए।

‘अब यहाँ (काठमाडौं) पनि कसलाई कोरोना छ कि छैन कुनै ग्यारेन्टी छैन, कुनै सभा/समारोह गर्दा कोरोना महामारी फैलियो भने कसले जिम्मेवारी लिने?,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसैले अब घरभित्रै बस्ने, तातोपानी खाने, अत्यावश्यक काम नभईकन बाहिर ननिस्किने।’

यसअन्तर्गत आउँदै गरेको होली (फागु पर्व) पनि नमनाउन आग्रह गरिएको उनले बताए। 

कोरोना संक्रमण फैलिने जोखिम रहेकाले होली नमनाउन त यसअघि सरकारले नै सम्पूर्ण देशवासीलाई आग्रह गरिसकेको छ।

यही फागुन २६ गते फागु पर्व परेको छ। यही दिन काठमाडौं उपत्यकालगायत देशका पहाडी भेगमा होली मनाइन्छ भने तराई भेगमा यसको भोलिपल्ट होली पर्व मनाउने चलन छ।

‘हामी तपाईंहरूको सञ्चारमाध्यममार्फत काठमाडौंका बासिन्दालाई विशेष अनुरोध गर्छाैं कि अहिले कोरोना संक्रमणले विश्वमै आतंक मच्चाइरहेको छ, नेपाल पनि त्यसको उच्च जोखिममा परेकाे छ,’ काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख (सीडीओ) दाहालले भने, ‘त्यसैले सचेत बनौं, सतर्कता अपनाऔं, महामारी भित्रिन नदिऔं।’

यसबीच नेपालका धेरै जनालाई कोरोना संक्रमण आशंका गरिए पनि अहिलेसम्म कसैमा पनि यो संक्रमण पाइएको छैन।

संक्रमण आशंका गरिएका व्यक्तिलाई टेकु अस्पताल भर्ना गरी उसको रगत तथा र्‍याल त्यहीं रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने गरिएको छ।

यसअघि परीक्षण गर्न नमुना विदेश नै लैजानुपर्ने बाध्यता थियो।

health

सुरुमा चीनबाट फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको भए पनि उपचारपछि अहिले उनी स्वस्थ भइसकेको र त्यसयता अरू कसैमा कोरोना भाइरस नदेखिएको टेकु अस्पताललले बताइरहेको छ।

चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका १७५ नेपालीमा पनि परीक्षण गर्दा कोरोना भाइरस नरहेको पुष्टि भएपछि सरकारले उनीहरूलाई आआफ्नो घर पठाइसकेको छ।

विश्वका विकसित एवं शक्तिशाली राष्ट्रलाई समेत कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न निकै मुस्किल परिरहेका बेला कसैगरी नेपालजस्तो अल्पविकसित एवं स्वास्थ्य सुविधा कमजोर रहेको देशमा यो संक्रमण फैलियो भने ठूलो क्षति हुने अनुमान गरिएको छ।

यसैकारण संक्रमण भित्रिनै नदिन नेपाल सरकारले सीमा नाका, विमानस्थललगायत भाइरस भित्रिन सक्ने स्थानहरूमा स्वास्थ्य जाँचलगायत सतर्कता अपनाएको छ।

यो पनि : 

कोरोनाका कारण होली नमनाउन सरकारको आग्रह

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .