ad ad

राजनीति


सहकारीबारे रविलाई गगनको जवाफ– बयान दिएको हो सफाइ होइन, फैसला कुरिरहेको छु

सहकारीबारे रविलाई गगनको जवाफ– बयान दिएको हो सफाइ होइन, फैसला कुरिरहेको छु

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १५:५६, काठमाडौँ

नेपाली कांग्रेस महामन्त्री तथा सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा बयान दिनुपरेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएको बताएका हुन्। 

आफूहरूसँग भएको प्रमाण छानबिन समितिलाई दिएको र सोही प्रमाणका आधारमा लामिछानेमाथि बयान लिइएको थापाको भनाइ छ।

‘केही दिनदेखि संसदमा केही साथीहरुले प्रमाण खोइ? प्रमाण खोइ? भनेर खोजिराख्नु भएको पाएँ। त्यत्रो तथ्य, प्रमाणहरु भएरै त होला यत्रो संसदमा संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौँ। त्यो संसदीय समिति हामीले लडेर बनाएको हो नि। त्यसको टीओआर हामीले लेख्न लगाएको हो। नाम लेख्न लगाएको हो। कम्पनीको नाम लेख्न लगाएको हो। अनि त्यो तथ्य, प्रमाणहरू दिएनौँ होला हामीले? हामीसँग भएको तथ्य, प्रमाणहरू पुगेन होला समितिमा? हाम्रा साथीहरूले बोकेर जानु भएको छैन होला? अनि यसमा ख्याल गर्नु भएन?,’ थापाले भने।

उनले नौ मिनेटमा सबै बताउँछु भनेर लामिछानेले भन्ने गरेको भन्दै ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था प्रमाणकै कारण आएको जिकिर गरे। 

‘नौ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकोले आएको होइन होला? मलाई त समितिमाथि पूरा विश्वास छ। सुर्य थापाले एकदम मेहनत गर्नुभएको छ। समितिमा भएका सबै साथीहरूमाथि विश्वास छ। बरु साथिहरू झुक्किनु भयो कि भन्ने लागेको छ मलाई। बयान हो बयान। सफाइ होइन। फैसला त आउनै बाँकी छ,’ थापाले भने। 

उनले आफू फैसला कुरेर बसिरहेको बताउँदै समितिमा बस्ने प्रत्येक सदस्यमाथि आफ्नो विश्वास रहेको बताए। 

‘तर रास्वपाका साथीलाई अलि अफ्ठ्यारो पर्ला कि? किनकी कालोलाई सेतो कसरी भन्नु? त्यसैले दिन गनौँ। राम्रोसँग गनौँ। औँला भाँचेर गनौँ। लेखेर गनौँ। खरिले, मसिले जे ले गनेपनि हुन्छ। फैसला आउने दिन गनौँ। फैसला आएपछि सँगै बसौँला,’ महामन्त्री थापाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .