आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने ठोकुवा गरेका छन्।
आजपाको सर्लाही जिल्ला भेलालाई आज मलंगवामा सम्बोधन गर्दै अध्यक्ष साहले आम जनादेश विपरितको सिमित नेताको स्वार्थमा बनेको कांग्रेस र एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने बताए।
‘यो दुई दलीय गठबन्धन धेरै दिन टिक्दैन। यो गठबन्धन नै जनादेश विपरितको छ। केही सिमित नेताजीको स्वार्थका लागि बनेको गठबन्धन हो। वास्तवमा यो गठबन्धन होइन ठगबन्धन हो’ आजपा अध्यक्ष साहले भने, ‘जनादेश विपरित, सिमित नेताको स्वार्थका लागि बनेको यो दुई दलीय गठबन्धन आम जनताको चाहनामा बनेको होइन। केही सिमित नेताको स्वार्थका लागि बनेको दुई दलीय गठबन्धनको सरकार धेरै दिन टिक्दैटिक्दैन।’
देशमा लोकतन्त्र कमजोर भएको बताउँदै उनले दलाल दलतन्त्रका कारण अहिले युवाहरु देशमै रोजगार नपाउने अवस्था आएको बताए। लडेर ल्याइएको लोकतन्त्र दलाल, भ्रष्ट नेताहरुले मास्न लागेको आरोप लगाउँदै साहले भने, ‘लोकतन्त्रलाई पार्टीका नेताहरुले मिलेर मासे र दलतन्त्र ल्याए। आज दुई दल मिलेर त्यही दलतन्त्र मास्न लागिरहेका छन्।’
एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गर्दै उनले एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेट तोडनुपर्ने बताए। लुटकारी दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका साहले भ्रष्टाचारी नेताहरुलाई देशबाट लखेटनमा युवाहरुले ढिलाई गर्न नहुने समेत बताए ।
डा. नवलकिशोर साहको अध्यक्षतामा सम्पन्न सो भेलामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभूषण साह सचिव उमेश कुशवाहा लगायतका नेताहरुको विशेष सहभागिता रहेको स्थायी कमिटी सदस्य रविन्द्र सिंहले जनाएका छन्।
Shares

प्रतिक्रिया