ad ad

राजनीति


प्रचण्डकै अघि जनार्दनले भने– पार्टी फुटाउन लागेको आरोप हेडक्वार्टर वरपरबाटै हो, तपाईंले नै जवाफ दिनुपर्छ

रुकुम सम्झाउँदै प्रचण्डलाई प्रश्नै–प्रश्न
प्रचण्डकै अघि जनार्दनले भने– पार्टी फुटाउन लागेको आरोप हेडक्वार्टर वरपरबाटै हो, तपाईंले नै जवाफ दिनुपर्छ

नेपालखबर
भदौ १, २०८१ शनिबार १५:४२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आफूमाथि पार्टी फुटाउन लागेको आरोपबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै खण्डन गर्नुपर्ने बताएका छन्। 

शनिबार पार्टीको काठमाडौँ–रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा शर्माले आफूमाथि लागेको आरोपबारे प्रत्येक पार्टी सदस्यलाई कान फुकेर भन्दै हिँड्न नसक्ने बताए। 

अध्यक्ष प्रचण्ड पनि सोही सम्मेलनमा सहभागी हुन पुगेका थिए।

मञ्चमा रहेका प्रचण्डतिर हेर्दै शर्माले भनेका छन्, ‘पार्टी फुटको प्रचार भयो भने मैले जहाँ भनिरहेको छु, त्यही ठाउँबाट, हेडक्वार्टर वरिपरिबाट भएको हो। सिधै कुरा छ मेरो। उहाँको भूमिका छ कि छैन उहाँले नै भन्नुहोला। त्यो कुराको खण्डन उहाँले नै गर्नुपर्छ। म प्रत्येक पार्टी सदस्यसँग गएर भन्न सक्दिनँ।’

उनले स्थायी समिति बैठकमा पनि उक्त विषयमाथि अध्यक्ष प्रचण्डले नै खण्डन गर्ने सहमति भएको पनि खुलाएका छन्। 

‘पार्टी स्थायी समिति बैठकबाट निर्णय पनि त्यही भएको छ, गर्ने भन्ने भएको छ,’ शर्माले भनेका छन्। 

रुकुम जिल्लाले जनयुद्धदेखि पार्टीका लागि गरेको योगदान सम्झँदै उनले प्रचण्डलाई प्रश्न गरे। 

‘पार्टीलाई वैचारिक, सांगठनिक, युद्ध मोर्चा, जनपरिचालन, संसद्को भूमिकाबाट खेल्दै आएको छ, रुकुमले भूमिका। यतिबेला संघर्ष र प्रश्न गर्नुपर्ने आवश्यक्ता ठान्यौँ र आज गरिरहेका छौँ। त्यो प्रश्नभित्र न कुनै षड्यन्त्र, दुरुग्राह र नेतृत्वप्रतिको अपमानको कुरा छ,’ उनले प्रचण्डतिर हेर्दै प्रश्न गरे, ‘पार्टी बनाउने हुटहुटी छ। निर्माण र रुपान्तरण गर्ने हुटहुटी छ। यो पार्टीमा इमानदार भएर बोल्न पाइँदैन? अब मैले पनि मिठो कुरा गरेर, सत्तोसराप गरौँ वा लागेको कुरा सिधा सिधा भनौँ, म आफैँप्रति प्रश्न खडा भएको छ। यसको जवाफ मैले पाइरहेको छैन।’

जनार्दनले राखेको मन्तव्यको संक्षिप्त पाठः
हाम्रो जनतासँगको सम्बन्ध छ। त्यसलाई बचाउने प्रयत्न गरेका छौँ। सिंगो पार्टी र कार्यकर्ता कुनै न कुनै रुपमा जनतासँग निकट छ, अघि बढेका छौँ।  जनयुद्धमा मर्नका लागि ४ जना योद्धा थिए, दर्जनौँ ब्रिगेड कमाण्डरहरू थिए। हजारौँ योद्धाहरू थिए। केही बलिदानका थिए। 

नेतृत्व निर्माण र रक्षाका लागि आफ्नो जीवनलाई होइन, पार्टी जीवनको रक्षाका लागि नेतृत्व निर्माणका लागि, वैचारिक रुपले सहयोग गर्ने कुरामा रुकुम पछि परेको थिएन। संगठनात्मक रुपमा केही योगदान गरेकै हो। 

युुद्धको हिसाबमा हजारौँ कमाण्डर तयार पारेर कहलिएकै हो। संसद्मा जनप्रतिनिधिको भूमिका खेलेकै हो। तर, आज बडो अचम्म, आश्चर्यमा छु। तपाईंहरूलाई मेरो अनुहार कस्तो लाग्छ कुन्नी? तपाईंहरूलाई म दलालजस्तो देख्नुहुन्छ? तपाईंहरूले मलाई म यो पार्टी फोड्ने जस्तो देख्नुहुन्छ? तर, त्यो अरोप मैले खोजिरहेको छु। त्यो आरोप मैले खपिरहेको छु। पार्टीको उच्च तहबाट, नेतृत्वको वरिपरिबाट देशभरी पार्टी फुटाउँदैछ भनेर मेरो बदनाम गरिँदैछ। तीनीहरूलाई कामी बुढाको स्प्रिड, जुझारुपन, विद्रोहीपन र बलिदानीभाव थाहा छैन। अब म त्यो भन्ने ठाउँमा पुगेको छु।

जसले सत्यलाई उल्ट्याउने प्रयत्न गरिरहेका छन्, म दुःख व्यक्त गर्न चाहन्छु। 

पार्टीलाई वैचारिक, सांगठनिक, युद्ध मोर्चा, जनपरिचालन, संसद्को भूमिकाबाट खेल्दै आएको छ, रुकुमले भूमिका। यतिबेला संघर्ष र प्रश्न गर्नुपर्ने आवश्यक्ता ठान्यौँ र आज गरिरहेका छौँ। त्यो प्रश्नभित्र न कुनै षड्यन्त्र, दुरुग्राह र नेतृत्वप्रतिको अपमानको कुरा छ। पार्टी बनाउने हुटहुटी छ। निर्माण र रुपान्तरण गर्ने हुटहुटी छ। यो पार्टीमा इमानदार भएर बोल्न पाइँदैन? अब मैले पनि मिठो कुरा गरेर, सत्तोसराप गरौँ वा लागेको कुरा सिधा सिधा भनौँ, म आफैँप्रति प्रश्न खडा भएको छ। यसको जवाफ मैले पाइरहेको छैन। 

तपाईंहरू त भ्रमित हुनुहुन्न, किनभने तपाईंहरूसँग न मैले कहिल्यै यो भाव व्यक्त गरेको छु, न संकेत गरेको छु। न मञ्चमा बसेकासित न तल बसेका सित। तर, नेतृत्व मनोगत हुन्छ उसलाई वस्तुगत बनाउनैपर्छ। त्यसका लागि मैले प्रश्न गरेको छु। प्रश्नमात्रै गरिनँ, पार्टी बनाउन कहाँ कहाँ गल्ती भयो भनेर योजना पनि प्रस्तुत गरेको छु। नेतृत्वबारे पनि प्रश्न गरेको छु। नेतृत्वबारेको प्रश्नमा अहिले नै प्रचण्डलाई पार्टीबाट निकाल्न खोजियो भनियो। 

मैले के भनेको छु भने, अध्यक्ष प्रचण्ड नभएको भए जनयुद्ध हुँदैन थियो। यो उपलब्धिको श्रेय सम्पूर्ण उहाँलाई छ भनेको छु। यता आइसकेपछिका समस्यामा उहाँमात्रै होइन हामीपनि लिन्छौँ भनेर भनेको छु। यो भन्दा सच्चाई केही हुन्छ? मैले भनेको यही हो। अध्यक्ष कमरेडको भूमिकालाई माथि उठाऔँ र थप स्थापित गरौँ मैले भनेको हो। पुष्पलालले जनवादी क्रान्तिको कार्यदीशा अघि सारेकोमा त्यसलाई दीर्घकालीन जनयुद्धको कार्यदिशालाई विकास गर्ने अध्यक्ष प्रचण्ड हो। उहाँले गरेर हामी जनयुद्धसम्म आइपुग्यौँ। 

मैले प्रचण्डलाई अरु २ सय वर्षसम्म बचाउने प्रयास गरेको छु। अरु २ सय वर्षसम्म प्रचण्ड बाचुन्, उनको विचारले गाइड गरोस् भनेर मैले गाइड गरेको कुरालाई नेतृत्वको विरुद्धमा आयो भनेर अनेकन प्रचार गरियो। प्रचण्डले जीवित वा भौतिक हुनेबेलासम्म नेतृत्व गर्ने कि त्यो विचार दिएर नेपाललाई परसम्म समाजवादी क्रान्तिको नेतृत्व गर्ने? तपाईं आफैँ रोज्नुस्। सत्ताको नेतृत्व गर्नुस् संगठनको अरुलाई दिनुस् भनेको हो। यो उहाँप्रति अपमान हो? उहाँलाई हटाएर म अध्यक्ष बन्न लागेको हो? मलाई चाहिएको छैन। मैले साफ साफ भनेको छु– मलाई अध्यक्ष हुनु छैन। मैले छलफल राखेको हो। प्रस्ताव राखेको हो। छलफल हुँदैछ। भूमिकामा नेतृत्वलाई स्थापित गर्ने, हामी आन्दोलनलाई बचाऔँ भन्ने कुरा राख्दा अनेक आरोप खप्नुपर्ने? खपौंला, पार्टीका लागि केही छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .