राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यकाल मंगलबार सकेर फर्कन लागेका अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी भएकाे छ।
प्रधानमन्त्रीनिकट उच्चस्राेतका अनुसार खतिवडाले आज (मंगलबार) राजीनामा दिने र उनलाई बुधबार नै अर्थमन्त्रीमा पुन:नियुक्ति गरिने तयारी गरिएकाे छ।
राष्ट्रियसभाका १९ जना सांसदको पदावधि मंगलबार सकिँदैछ। गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका १९ जनामध्ये खतिवडा पनि एक हुन्।
कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री खतिवडाले राजीनामा दिन लागेका हुन्। तर, सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्न लागेका हुन्। "गैरसांसदलाई पनि ६ महिना मन्त्री बनाउन मिल्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले उहाँलाई मन्त्री नियुक्त गर्न लाग्नुभएकाे हाे," स्राेतले नेपालखबरसँग भन्याे।
अर्थ मन्त्रालयमा पनि उनकाे मंगलबार सपथग्रहण गराउने तयारी भएकाे मन्त्रालयका एक अधिकृतले बताए।
याे पनि:
अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपति कार्यालय पुग्यो
Shares

प्रतिक्रिया