नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भएपनि अहिले नै संशोधन गर्न नसकिने बताएका हुन्।
अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पार्दै कोइरालाले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भएपनि सरकारको बहुमत नपुग्ने बताए।
‘संविधान अहिले नै संशोधन हुन्छ भन्ने कुरापनि दिमागबाट हटाइदिनुस्। त्यो हुन सक्दैन भन्ने कुरा पनि हामीले बुझौँ। किन हुन सक्दैन भने प्रतिनिधि सभा र राष्ट्रिय सभा मिलाएर दुई तिहाई बहुमत चाहिन्छ,’ नेता कोइरालाले भने, ‘राष्ट्रिय सभामा यो सरकारको बहुमत पुग्दैन। दुई वर्ष कुर्नैपर्ने हुन्छ। संशोधन गर्दाखेरी संविधानलाई सुधार गर्ने क्रममा माओवादी लगायत अन्य राजनीतिक दलहरूलाई पनि हामीहरूले साथ लिएर जानुपर्छ।’
उनले दुवै सदनमा बहुमत पुर्याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताए।
नेता कोइरालले राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने पनि बताए।
‘राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने छ। तर हामीले यो पनि बुझ्नुपर्ने हुन्छ। अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाईं पनि हो। ०६२/०६३ को आन्दोलनले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाँइ पनि भएको छ भन्ने कुरा पनि हामीले दिमागमा राखौँ,’ नेता कोइरालाले भने।
उनले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाइए क्याबिनेटबाट निस्कँदा निष्कलंक निस्कन आग्रह समेत गरेका छन्।
‘राजनीतिज्ञहरूले राजनीति गर्ने हो। पैसा कमाउनलाई त्यहाँ (सरकारमा) जाने होइन भन्ने कुरा एकदम बुझिने भाषामा हामीले भन्न सक्नुपर्छ। मैले हाम्रा साथीहरु जो मन्त्री हुनुभएको छ, उहाँहरुलाई मैले के भनेको छु भने तिमीहरु कस्तो गर्छौ?,’ उनले भने, ‘भोलि काम कति सक्छौँ? सक्दैनौ? त्यो आफ्नो ठाउँमा छ। तर मन्त्रिपरिषद्बाट निस्किदाँखेरी निष्कलङ्क निस्क । त्यति सबैभन्दा ठूलो कुरा हो। तिमीहरू निष्कलङ्क निस्कियौँ भने नेपाली कांग्रेसको इज्जत रहन्छ।’
Shares
प्रतिक्रिया