राजनीति


यी हुन् ओलीको मिर्गौला प्रत्यारोपणमा खटिएका चिकित्सक

यी हुन् ओलीको मिर्गौला प्रत्यारोपणमा खटिएका चिकित्सक

नेपालखबर
फागुन १९, २०७६ सोमबार १६:४९,

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार साँझ भर्ना भएका छन्।

१२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि दोस्रो प्रत्यारोपण गर्न लागिएको हो। कात्तिकको दोस्रो सातादेखि प्रधानमन्त्री ओलीको नियमित डायलासिस गरिँदै आएको छ।

शिक्षण अस्पतालका प्राध्यापाक डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने छ। सो टोलीमा अस्पतालका युरोलोजी र नेफ्रोलोजी विभागका चिकित्सक संलग्न हुने छन्।

शिक्षण अस्पतालकै चिकित्सकहरु उत्तम शर्मा, सुवास आचार्य, सुमन चापागाई, भोजराज लुइँटेल, सुजीव पौडेल, दिव्यासिंह शाह, रमेशसिंह भण्डारी, अरुण सायमी र दिलीप शर्मा प्रधानमन्त्रीको उपचार संलग्न हुने स्रोतहरुले जनाएका छन्।

शर्मा, चापागाईं, लुइँटेल र पौडेल युरोलोजिस्ट हुन् भने शाह नेफ्रोलोजिस्ट हुन्।

भण्डारी कलेजो प्रत्यारोपण विशेषज्ञ हुन्। चिकित्सकका रुपमा लामो समयदेखि प्रधानमन्त्री ओलीसँग सम्बन्ध राखेका सायमी वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्।

शाह र शर्मा प्रधानमन्त्रीका निजी चिकित्सक हुन्। आचार्य क्रिटिकल केयर युनिटका प्रमुख हुन्।

प्रधानमन्त्रीको प्रेस सल्लाहर सूर्य थापाले उपचारमा संलग्न टोलीको छनोटलगायतका विषय अस्पतालले हेरिरहेको बताए।

‘प्रधानमन्त्रीको उपचारमा को को संलग्न छन् भन्ने विषयमा अस्पतालले औपचारिक रुपमै जानकारी गराउने छ,’ थापाले भने।

उनले प्रधानमन्त्री ओली नेपाली चिकित्सकप्रति विश्वस्त भएर नेपालमै प्रत्यारोपणका लागि तयार भएको समेत बताए।

‘नेपाली विशेषज्ञ, अस्पताल, उपकरण, प्रत्यारोपणको क्षेत्रमा प्राप्त गरेको उपलब्धिप्रति विश्वस्त भएर प्रधानमन्त्रीले नेपालमै प्रत्यारोपण गर्ने निर्णय लिनु भएको हो,’ थापाले भने।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकार रहेका भारतीय चिकित्सकहरुलाई अब्जरर्भरको रुपमा काठमाडौँ झिकाइएको छ। प्रा.डा. अनन्तकुमार र अर्का एक चिकित्सक काठमाडौँ आएको स्रोतले जनायो।

‘प्रधानमन्त्रीको मेडिकल हिस्ट्रीबारे जानकार चिकित्सकहरु अब्जर्भरको रुपमा रहनु भएको छ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो।

चिकित्सक टोली छनोटको रेखदेख प्रधानमन्त्रीकी निजी चिकित्सक शाहले गरिरहेकी छन्।

‘प्रधानमन्त्रीको प्रत्यारोपणको मेडिकल टिम छनोटसहितका विषय सबै डा. दिव्याले हेरिरहनुभएको छ,’ चिकित्सक टोलीका एक सदस्यले भने।

प्रत्यारोपण टोलीको नेतृत्व गरिरहेका ज्ञवाली लामो अनुभव भएका चिकित्सक हुन्। रुसबाट एमडी गरेका उनले पब्लिक हेल्थको विषयमा समेत अध्ययन गरेका छन्। 

भारत भ्रमणमा रहेका चिकित्सक भण्डारीलाई प्रधानमन्त्रीका उपचार टोलीमा राखिएको खबर दिएर फिर्ता बोलाइएको हो। उनी सोमबार मात्रै काठमाडौँ आइपुगेका छन्। उनले प्रधानमन्त्री ओलीको अपेन्डिसाइटिसको शल्यक्रिया गर्ने टोलीको नेतृत्व गरेका थिए।

मंसिरमा प्रधानमन्त्रीको एपेन्डिसाइटिस फुटेपछि त्रिवी अन्तर्गतकै मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्री ओलीले पहिलो प्रत्यारोपण मात्रै नभएर नियमित स्वास्थ्य परीक्षण र उपचार समेत विदेशमा उपचार गराउँदै आएका थिए। यसअघि उनी उपचारका लागि भारत, थाइल्यान्ड र सिंगापुरमा गएका थिए।

भदौको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो। त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए। रेनल बायोप्सीको रिपोर्टपछि ओली थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो।

शल्यक्रियाअघि गरिने सबै प्रकारका स्वास्थ्य परीक्षणहरु सोमबारबाटै सुरु भइसकेको टोली प्रमुख ज्ञवालीले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad