ad ad

राजनीति


प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण : आपतकालीन अवस्थामा भारतीय चिकित्सक आउन तयार

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण : आपतकालीन अवस्थामा भारतीय चिकित्सक आउन तयार

नेपालखबर
फागुन १८, २०७६ आइतबार १६:३०,

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार योजना आयोगको बैठकको अध्यक्षता गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुने भएका छन्। सिंहदरबारमा बिहान ९ बजेबाट आयोगको १५ औं बैठक हुँदैछ।

‘राष्ट्रिय योजना आयोगको बैठक अध्यक्षता गरेपछि सोमबार प्रधानमन्त्री अस्पताल भर्ना हुनुहुने छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

प्रत्यारोपणका लागि ओली सोमबार अपरान्ह त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुने छन्। जहाँ बुधबार मिर्गौला रोग विशेषज्ञ तथा सर्जन डा प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने छ।

थापाले प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने व्यक्तिबारे अनेक अड्कलबाजी भइरहेको भन्दै अहिले व्यक्तिगत सूचना गोप्य नै राखेर पछि मात्र यसबारे जानकारी दिइने बताए।

प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणमा नेपालले प्राप्त गरेको सफलताबाट विश्वस्त भएर उनले नेपालमै दोस्रो पटक प्रत्यारोपण गर्न लागेको थापाले बताए। मिर्गौलासम्बन्धी अन्य उपचारका लागि विदेश धाउँदै आएका प्रधानमन्त्री ओलीले दोस्रो पटकको प्रत्यारोपण नेपालभित्रै गर्ने निर्णय गरेका हुन्।

‘नेपाली विशेषज्ञ, अस्पताल, उपकरण, प्रत्यारोपणको क्षेत्रमा प्राप्त गरेको उपलब्धिप्रति विश्वस्त भएर प्रधानमन्त्रीले नेपालमै प्रत्यारोपण गर्ने निर्णय लिनु भएको हो,’ थापाले नेपालखबरसँग भने।

१३ वर्षअघि भारतको एपोलो अस्पतालमा पहिलोपटक ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। यसअघि उनी नियमित स्वास्थ्य जाँच गर्न तथा स्वास्थ्य समस्या आउँदा भारत, थाइल्यान्ड र सिंगापुर जाने गरेका थिए।

ओलीले मिर्गौला पुनः प्रत्यारोपण गर्ने निर्णय गरेपछि भारत र चीन दुबै छिमेकी देशबाट प्रत्यारोपणसहित उपचारका लागि आउन आग्रह गरिएको थियो। भारतका विदेश सचिव एस जयशंकरले काठमाडौं आउँदा ओलीसँग भेटेर प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश भन्दै त्यस्तो प्रताव राखेका थिए भने चीनबाट पनि उपचारका लागि चीन आउन बारम्बार आमन्त्रण गरिएको थियो।

ओलीले चीन र भारत कतै नगएर नेपालमै प्रत्यारोपण गर्ने निर्णय गरेका हुन्। तर नेपालमै प्रत्यारोपण गर्ने तयारी अन्तर्गत यसअघि उपचार गरिएका भारत, सिंगापुर र अमेरिकी अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँग पनि परामर्श गरिएको स्रोतहरूले जनाएका छन्।

खासगरी दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दा अपनाउनु पर्ने सावधानी र यसको प्रभावबारे अध्ययन गर्न प्रधानमन्त्री ओलीका नीजि चिकित्सक डा दिव्या सिंह केही साता अमेरिकामा बसेर विस्तृत अध्ययन गरी फर्केकी छिन्। स्रोतहरूले उनी अमेरिकाबाट फर्केपछि नै नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने अन्तिम निर्णय लिइएको बताएका छन्।

नेपालमै प्रत्यारोपण गर्दा पनि भारत, सिंगापुर र अमेरिकाबाट विशेषज्ञ चिकित्सकहरू बोलाउने तयारी यसअघि गरिएको थियो। तर अहिले यसबारे कुनै निर्ण नभइसकेको जनाइएको छ। परिस्थिति हेरेर आवश्यक परे भारतबाट पहिले उपचारमा संलग्न चिकित्सकहरू बोलाउने गरी तयारी अवस्थामा राखिएको स्रोतहरूले जनाएका छन्।

‘यसअघि प्रधानमन्त्रको मिर्गौला प्रत्यारोपणमा सहभागी भएका भारतीय विशेषज्ञहरुलाई अब्जर्भरका रुपमा बोलाउने कि भन्ने विषमया समेत छलफल भएको छ,’ प्रधानमन्त्रीको उपचार प्रक्रियाबारे अपडेट उच्च स्रोतले भन्यो, ‘तर मेडिकल टिमले सोमबार मात्रै यसबारे निर्णय गर्ने छ। भारतीय विज्ञहरु तयारी अवस्थामा हुनुहुन्छ। आपतकालीन अवस्थामा बोलाउनेबित्तिकै आउन सक्नुहुन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .