ad ad

राजनीति


लेखा समिति सभापति पोखरेलको स्पष्टीकरण– मैले व्यापारीलाई होइन, व्यापारीले मलाई भेटेका हुन्

‘प्रचण्डको क्याबिनेटको एउटै चलानी नम्बरमा दुईवटा पत्र आएका छन्’
लेखा समिति सभापति पोखरेलको स्पष्टीकरण– मैले व्यापारीलाई होइन, व्यापारीले मलाई भेटेका हुन्

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल (फाइल तस्बिर)


गीता चिमोरिया
साउन १५, २०८१ मंगलबार १९:४३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा ‘सुबोध’ ले प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि गम्भीर आरोप लगाएका छन्। 

पछिल्लो समय विवादमा रहेको डेडिकेडेट र ट्रंकलाइनको विषयमा लेखा समितिका सभापति पोखरेलले बक्यौतासमेत कायम रहेका एक जना व्यापारीसँग रहस्यमय भेट गरेको उनले आरोप लगाएका छन्। 

‘डेडिकेडेट फिडर र ट्रंकलाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ। तर, उक्त समितिका सभापति र झगडियाहरूमध्ये बक्यौतासमेत कायम रहेका एकजना व्यापारीका बीचमा रहस्यमय भेट भएको सूचना आएको छ। पदीय दुरुपयोगको यस घटनाको गम्भीरतापूर्वक छानबिन गर्न जोडदार माग गर्दछु,’ सापकोटाले बैठकमा भनेका छन्। 

सापकोटाले संसद् बैठकमै लगाएको आरोपबारे हामीले सभापति पोखरेलसँग सोधखोज गरेका थियौँ। एमाले सांसद पोखरेलले आफूले व्यापारीलाई भेटेको नभई व्यापारीले चाहिँ आफूलाई भेटेको जवाफ दिएका छन्। 

यस्तो छ पोखरेलसँगको कुराकानीः

तपाईंले गोप्य रुपमा ट्रंकलाइन र डेडिकेटेड लाइनका व्यापारीसँग भेट्नुभयो भन्ने कुरा संसद्‍मै उठेको छ, के हो?
मैले व्यापारी भेटेको होइन, व्यापारीले मलाई भेटेको हो। ट्रंकलाइन र डेडिकेटेडको विषयमा मलाई भेट्छु भन्नेलाई त भेट्नुपर्‍यो नि होइन। मैले व्यापारी, प्राधिकरणका कर्मचारी भेटेको होइन, उहाँहरूले मलाई लगातार भेटिरहनुभएको छ। अब उहाँहरूले आ–आफ्नो कुरा भन्नुभएको छ। मेरो ड्युटी नै हो, यसमा मैले केही भनेको छु र?

फर्मल बैठकबाहेक आफ्ना कुरा राख्न उहाँहरू नै आउनुभएको हो? 
किन नआउनु र! आजै पनि प्राधिकरणका साथीहरूले भेट्नुभयो। त्यसपछि व्यवसायी साथीहरूले भेट्नुभयो। यहाँ सांसदकै अगाडि भेट्नुभयो। अब मैले त्यसबाट भाग्ने त होइन होला नि। त्यसकारण व्यवसायी साथीहरूले मलाई भेटेको सत्य हो। तर, उहाँले भनेको के चाहिँ असत्य हो भने, मैले भेटेको चाहिँ होइन। उहाँहरूले खोज्नुभयो, दुःख गुनासो सुनाउनुभयो। केही केही विषयवस्तु छन् नि त। मन्त्रिपरिषद्को निर्णय एउटै चलानी नम्बरमा दुईवटा पत्र छन्। कमरेड प्रचण्डको क्याबिनेटको एउटै चलानी नम्बरमा दुईवटा पत्र छन्, कुन चाहिँ सत्य हो त?

त्यतिमात्रै होइन। एउटामा कार्यान्वयन गर भन्ने छ, अर्को लाल आयोगको प्रतिवेदन र व्यापारीको साथीहरूको भाषा ठ्याक्कै मिल्छ। व्यवसायी र लाल आयोगको भाषा कसरी जस्ताको तस्तै मिल्यो भनेर त सोध्नुपर्यो नि होइन र?

कहिलेको क्याबिनेटमा त्यस्तो भएछ?
यो सबै कुरा मैले अहिले नै भन्न मिलेन। यो अनुसन्धानको विषय हो। तपाईंले खोज्नुभयो भने भेट्नुहुन्छ। 

व्यापारीहरूले चाहिँ तपाईंलाई के गुनासो गर्नुभएको छ? 
त्यो सबै कुरा अहिले नै भन्न मिलेन। म ती सबै कुराहरू मिटिङमा राख्छु। दुवै थरीले सुनाएको कुरा सबै समितिका सदस्यहरूलाई पनि उपलब्ध गराउँछु। त्यो समितिको बैठकमा राख्छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .