प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम असुली गर्न बाँकी रहेका व्यापारीसँग भेटेर पदको दुरुपयोग गरेको आरोप लगाएका छन्।
डेडिकेटेड र ट्रंक लाईनको वक्यौता रकम नतिरेको भन्दै विवाद भइरहेका बेला सांसद सापकोटाले सो रहस्यमय ढंगको भेटबारे आफूले सूचना पाएको दाबी गरेका हुन्।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सभापति पोखरेलले पदीय दुरुपयोग गर्दै विवादास्पद व्यापारीसँग भेट गरेको उल्लेख गरे।
उनले घटनाको गम्भिरतापूर्वक छानबिन गर्न पनि सरकारसँग माग गरे।
‘डेडिकेटेड फिडर र ट्रंक लाईनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ। तर उक्त समितिका सभापति र झगडियाहरूमध्ये वक्यौता समेत कायम रहेका एक जना व्यापारीका बीचमा रहस्यमय भेट भएको सूचना आएको छ। पदीय दुरुपयोगको यस घटनाको गम्भिरतापूर्वक छानविनका लागि जोडदार माग गर्दछु,’ सांसद सापकोटाले भने।
सांसद सापकोटाले दुध किसानहरूको भुक्तानी तत्काल गर्न पनि सरकारलाई सचेत गराए।
Shares
प्रतिक्रिया