ad ad

राजनीति


थोरै समय बसेँ, कूटनीतिक आचारसंहिता कार्यान्वयनमा जोड दिएँ: परराष्ट्रमन्त्री

थोरै समय बसेँ, कूटनीतिक आचारसंहिता कार्यान्वयनमा जोड दिएँ: परराष्ट्रमन्त्री

फाइल तस्वीर


नेपालखबर
असार ३०, २०८१ आइतबार १८:५२, काठमाडौँ

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू छोटै समय मात्रै मन्त्रालयमा रहनु परेकाले धेरै काम गर्न नपाए पनि कूटनीतिक आचार संहिता संचालनमा जोड दिएको बताएका छन्। आइतबार परराष्ट्र मन्त्रालयले आयोजना गरेको बिदाई कार्यक्रममा बोल्दै उनले आफू १२ वर्षपछि परराष्ट्रमन्त्रालयमा फर्किँदा केही निश्चित योजनासहित आएको सुनाए।

‘म १२ वर्षपछि परराष्ट्र मन्त्रालयमा फर्केको थिएँ,’ मन्त्री श्रेष्ठको भनाइ थियो, ‘निश्चित केही सोचसहित आएको थिएँ। आजको सन्दर्भमा एशिया केन्द्रित हुँदै गरेको भूराजनीतिक परिस्थिति। यस्तो अवस्थामा नेपालको परराष्ट्र नीतिलाई कसरी संचालन गर्ने र त्यसलाई संचालन गर्ने परराष्ट्र मन्त्रालयलाई कस्तो बनाउने भन्ने सोच सहित आएको थिएँ।’

गत फागुनमा परराष्ट्र मन्त्री बनेका श्रेष्ठले करिब ४ महिना मन्त्रालयमा रहँदा आफूले मुख्य गरि दुई कुरामा जोड दिएको बताए। उनका अनुसार देशको सार्वभौमिकता र स्वाधिनताको रक्षा गर्नेमा उनको पहिलो जोड थियो। दोस्रो जोड, देशको आर्थिक विकासमा सहयोग पुग्नेगरि आर्थिक कूटनीति संचालन गर्नेमा थियो।

तर, उनी यसमा कत्तिको सफल भए त ? मन्त्री श्रेष्ठले आफैंबारे मूल्यांकन सुनाउँदै भने, ‘समय पनि थोरै भयो। हामीले गर्न चाहेको काम पनि धेरै गर्न पाएनौं।’

यद्यपि, कूटनीति आचारसंहिताको कार्यान्वयनमा आफूले जोड दिएको मन्त्री श्रेष्ठले सुनाए। ‘कूटनीतिक आचार संहिता कार्यन्वयनमा पहल कदमी गर्‍यौं,’ उनले भने, ‘हामीले सबै मन्त्रालयका अंग र राजनीतिक पार्टीहरुलाई कूटनीतिक आचारसंहिता पालनाका निम्ति पत्र पठायौं। त्यसमा हाम्रो ध्यान गयो।’

१२ वर्षअघि परराष्ट्रमन्त्री हुँदा पनि आफूले यसमा पहल लिएको उनको भनाइ थियो।

जाँदाजाँदै उनले उनले केही उपलब्धी पनि सुनाए। मित्र राष्ट्रहरूको भ्रमण गरेको, अनलाइन कन्सुलर सेवा सुरु गरेको र वैदेशिक रोजगारीको मागपत्र अनलाइनमार्फत प्रमाणीकरण गर्न सुरु गरेको मन्त्री श्रेष्ठको भनाइ थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .