ad ad

राजनीति


चौथोपटक प्रधानमन्त्री नियुक्त भए केपी ओली

चौथोपटक प्रधानमन्त्री नियुक्त भए केपी ओली

नेपालखबर
असार ३०, २०८१ आइतबार १७:३८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार (असार ३०) ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले दुई वा दुईभन्दा बढी दललाई नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान गरेपछि ओलीले नेपाली कांग्रेसको समर्थनसहित  शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। 

ओलीको शपथग्रहण भने भोलि (सोमबार) मात्रै हुने भएको छ। बिहान ११ बजे शीतलनिवासमा शपथग्रहण हुने गरी राष्ट्रपति कार्यालयले व्यवस्थापन तथा पत्राचार गरेको छ।

ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्।

गत असार १७ गते कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्न सहमति भएको थियो।

ओली २४ असोज ०७२ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। 

त्यतिबेला ओली नेतृत्वको सरकार ९ साउनमा ढलेको थियो। ०७४ मा एमाले–माओवादीसहित वाम गठबन्धनको बलमा ओली ३ फागुन ०७४ मा करिब दुई तिहाइ सांसदको समर्थनमा दोस्रोपटक प्रधानमन्त्री भएका थिए। 

नेकपाभित्रको विवाद चुलिँदै जाँदा र पार्टीभित्रै कमजोर बनेपछि ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे।

तर, सर्वोच्च अदालतले ११ फागुन ०७७ मा संसद् विघटन असंवैधानिक ठहर गरी पुनर्स्थापना गरिदियो। लगत्तै, २३ फागुनमा सर्वोच्चले एमाले र माओवादीको एकता अमान्य घोषणा गरी दुवै पार्टी पूर्ववत् ब्युँतिने फैसला गर्‍यो। 

त्यसपछि माओवादीले समर्थन फिर्ता लियो र ओलीले २७ वैशाख ०७८ मा सदनमा विश्वास गुमाए। दोस्रोपटक ओलीले तीन वर्ष तीन महिना सरकार चलाएका थिए। 

ओली सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

त्यसका लागि ३० वैशाख ०७८ राति ९ बजेसम्मको समय दिइएको थियो । तर, कुनै पनि दलले बहुमत पुर्‍याउन नसकेको भन्दै राष्ट्रपतिले सोही दिन ओलीलाई नै सबैभन्दा ठूलो दलको नेताका रूपमा अल्पमतको प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

यद्यपि, त्यसअघि नै कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमत सदस्यको समर्थनमा प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए।

राष्ट्रपतिबाट तेस्रोपटक नियुक्त भएका प्रधानमन्त्री ओलीले ८ जेठ ०७८ मा फेरि प्रतिनिधि सभा विघटन गरेका थिए।

त्यसविरुद्ध पनि सर्वोच्च अदालतमा रिट परेपछि २८ असार ०७८ मा सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्दा ओली सत्ताच्युत भएका थिए।

ओली पहिलोपल्ट २०५१ सालमा गृहमन्त्रीका रूपमा सरकारमा सामेल भएका थिए। मनमोहन अधिकारी नेतृत्वको उक्त सरकार ९ महिनामै ढलेको थियो।

त्यसपछि उनी २०६३ सालमा परराष्ट्रमन्त्री भए। गिरिजाप्रसाद कोइराला नेतृत्वको उक्त सरकारमा उनी २०६४ चैत १८ सम्म कायम रहे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .