ad ad

राजनीति


रेलमार्गबाट चीनसँग जोडिन सहयोग पुग्ने समझदारी स्वीकृत गर्ने सरकारको निर्णय

रेलमार्गबाट चीनसँग जोडिन सहयोग पुग्ने समझदारी स्वीकृत गर्ने सरकारको निर्णय

नेपालखबर
असार २७, २०८१ बिहिबार २३:३१, काठमाडौँ

सरकारबाट बाहिरिनु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँग नेपाललाई रेलमार्गबाट जोड्न सहयोग पुग्ने निर्णय मन्त्रीपरिषदबाट गराएका छन्। 

एमालेसहितका दलले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि शुक्रबार संसदमा विश्वासको मत सामना गर्न लागेका प्रधानमन्त्री प्रचण्डले बिहीबार बसेको मन्त्रीपरिषदको बैठकबाट चीनसँग भएको एक समझदारी अनुमोदन गर्ने निर्णय गरेका हुन्, जुन बीआरआई आयोजनाकै अंग हो। 

‘नेपाल र चीन सरकारबीच हस्ताक्षर हुने स्ट्रेन्थेनिङ द डेभलपमेण्ट कोअपरेशन इन बिल्डिङ द ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ समझदारी स्वीकृत गर्ने निर्णय बिहीबार बसेको मन्त्रीपरिषद बैठकले गरेको छ,’  मन्त्रीपरिषदको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले भनेकी छन्। 

सरकारबाट यो निर्णय गराउन राजनीतिक तहभन्दा पनि कर्मचारी तहको भूमिका बढी रहेको मानिएको छ। एक सरकारी अधिकारीका अनुसार ‘चीनसँग रेलमार्ग जोड्ने र सडक विस्तार गर्ने सम्बन्धमा मन्त्रीपरिषदबाट भएको यो निर्णय बीरआआईकै एउटा अंग हो।’

निर्णयपछि एक मन्त्रीले भने बीआरआई कार्यान्वयन गर्ने सन्दर्भमा यो निर्णय खासै महत्वपूर्ण नरहेको बताए। 

‘यो सामान्य सैद्धान्तिक निर्णय मात्रै हो, यसमा न परियोजना खुलाइएको छ, न बीआरआई कार्यान्वयनको मोडालिटी,’ ती मन्त्रीले नेपालखबरसँग भने। 

प्रचण्डले सरकारबाट बाहिरिने बेला गरेको यो सैद्धान्तिक निर्णयले बीआरआई कार्यान्वयन नै हुने त होइन तर, बीआरआई अन्तर्गत केरुङ–काठमाडौं रेलमार्ग जोड्न र चीनको सीमातर्फका सडक विस्तार गर्न भने सहयोग पुग्ने ठानिएको छ। 

एमालेसँग सत्ता साझेदारी सम्झौतामा हस्ताक्षर गर्नुअघि असार १७ गते कांग्रेसले ‘बीआरआई परियोजना अन्तर्गत ऋण नलिने, अनुदानमात्रै स्वीकार गर्ने’ निर्णय गरेको थियो। 

चीनसँग सन् २०१७ मै भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न अर्को निर्णय गर्ने तयारीमा सरकार थियो। बीआरआई सम्झौता कार्यान्वयन योजना मन्त्रीपरिषदबाट निर्णय नहुँदा अड्केर बसेको छ। 

प्रधानमन्त्री प्रचण्डले संसदमा केही साताअघि बोल्दा बीआरआई सम्झौता चाँडै कार्यान्वयन हुने कुरा गरेपनि निर्णय नहुँदै उनी सरकारबाट बाहिरिने अवस्थामा पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .