ad ad

राजनीति


पहिलो चरणमा १५ सदस्यीय मन्त्रिमण्डल, पौडेल र सिंह उपप्रधानमन्त्री

पहिलो चरणमा १५ सदस्यीय मन्त्रिमण्डल, पौडेल र सिंह उपप्रधानमन्त्री

सागर न्यौपाने
असार २७, २०८१ बिहिबार २०:३७, काठमाडौँ

आगामी सोमबारसम्म नयाँ सरकार गठन गर्नेगरी नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबण्डामा सहमति लगभग टुंग्याएका छन्।

संविधानको धारा ७६ (२) अनुसार सरकार बन्ने निश्चित रहेको निष्कर्षसहित १२ दिनदेखि निरन्तर छलफलमा रहेका कांग्रेस–एमालेका नेताहरूले नयाँ बन्ने सरकारको मन्त्रालयसमेत बाँडफाँटमा समझदारी जुटाएका हुन्। 

जसअनुसार दुईजना उपप्रधानमन्त्री राख्ने समझदारी भएको छ। कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनाउने हालसम्मको सहमति छ। दुवै यसअघि उपप्रधानमन्त्री भइसकेका नेता हुन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री राख्न चाहेका थिएनन्। सिंह र पौडेल नै सरकारमा सहभागी हुनुपर्ने भएपछि मात्र उनी उपप्रधानमन्त्री राख्न तयार भएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ (शुक्रबार) बिहान ११ बजे प्रतिनिधि सभामा विश्वासको मत माग्दै छन्। उनले विश्वासको मत पाउने सम्भावना नरहेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्नेमा कांग्रेस–एमाले ढुक्क छन्।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुअघि नै मन्त्रालय बाँडफाँटमा एउटा समझदारी बनाएको कांग्रेसका एक पदाधिकारीले बताए। बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका एमाले अध्यक्ष ओलीसँग यसबारे छलफल भएको थियो।

कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने सबै दललाई मन्त्रालय दिएर सरकारमा सामेल गराउन देउवा–ओली तयार भएका छन्। कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले २८ गते विश्वासको मत असफल भएको २ घण्टामै सबै टुंगो लगाउने दाबी गरे। 

पहिलो चरणमा १५ जना मन्त्री
प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिमण्डलमा पहिलो चरणमा दुई पार्टीबाट कम्तीमा पाँच-पाँच जना मन्त्री बनाइँदैछ। 

सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ८ मन्त्रालय पाउनेछ। यस्तै, सरकारलाई समर्थन गर्ने ठूलो दल कांग्रेसले परराष्ट्र, गृह, भौतिक पूर्वाधार, ऊर्जासहित ९ मन्त्रालय पाउने लगभग निश्चित छ। यस्तै, सरकारलाई समर्थन गर्ने अन्य दलबाट एकएक जना सुरुमै समेट्ने तयारी छ।

यद्यपि, नयाँ सरकारलाई समर्थन गर्ने दलको संख्या बढेकोले भागबण्डाको अन्तिम संख्या हेरफेर हुने छलफलमा रहेका ती नेता बताउँछन्। 

संसदमा रहेका जनमत पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) समेत सहभागी हुने भएपछि कांग्रेस–एमालेले लिने मन्त्रालय संख्या घटाइएको छलफलमा रहेका एक नेताले नेपालखबरलाई जानकारी दिए।

‘नयाँ बन्ने सरकारलाई समर्थन गर्ने दलको संख्या बढ्दै गएको छ, सबैलाई राम्रा मन्त्रालय नै चाहिएकोले बाँडफाँटमा अलि समस्या देखिएको छ,’ उनले भने, ‘अहिलेसम्मको छलफल अनुसार जसपा, जसपा नेपाल र लोसपाले हामीलाई साथ दिनुभएकोले उहाँहरूलाई एक–एक मन्त्रालय दिनेछौँ। एउटा सीके राउत नेतृत्वको जनमत पार्टीलाई दिनेछौँ, त्यसो गर्दा अब एमाले–कांग्रेसले पाउने मन्त्रालय ८ र ९ हुन सक्छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई के गर्ने भन्ने अझै निर्णय भइनसकेको उनले बताए। शनिबार एकपटक समर्थन गर्ने दलको बैठक राख्ने तयारी छ। 

‘धेरै चरणमा मन्त्रिमण्डल हेरफेर र पुनर्गठन नगर्ने भन्ने छ, आइतबार वा सोमबारसम्म मन्त्रिमण्डलको खाका तयार पारेर राष्ट्रपतिकोमा पेस गर्छाैँ,’ ती नेताले थपे, ‘२८ गते नै हामीलाई समर्थन गर्ने दलका सांसदको हस्ताक्षर राष्ट्रपतिकोमा बुझाउने भनेका छौँ।’

बिहीबार (असार २७) गते जसपा, जनमत, जसपा नेपाल, लोसपा र राप्रपाको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गर्दै कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गरेका छन्।

कोको जानेछन् पहिलो चरणमा?
कांग्रेसबाट प्रकाशमान सिंहले नेतृत्व गरेमा रमेश लेखक गृह र डा. आरजु देउवा परराष्ट्रमन्त्री बन्ने चर्चा छ। अन्य केही नेताहरूको नामका विषयमा उनी परामर्शमा छन्। 

पार्टीभित्र शेखर कोइराला, कृष्ण सिटौला, दुई महामन्त्री र दुई उपसभापतिलाई समेत मान्य नाम पठाउनुपर्ने भएकोले उनले सर्वस्वीकार्य बनाउन प्रयास गरेका छन्।

एमालेले मन्त्रीहरूको नाम सार्वजनिक गरिसकेको छैन। अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले आन्तरिक तयारी गरिरहेका छन्।

‘सबै क्लस्टरलाई समेटेर मन्त्री बनाउने भनिएको छ,’ एमालेका एक पदाधिकारीले भने, ‘कसलाई मन्त्री बनाउने भनेर अध्यक्षले चुहाउनुभएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .