ad ad

राजनीति


एमालेले ‘जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन’ छुट्टै स्वयंसेवी संगठन बनाउँछ : ओली

एमालेले ‘जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन’ छुट्टै स्वयंसेवी संगठन बनाउँछ : ओली

नेपालखबर
असार २७, २०८१ बिहिबार १२:२६, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेसनल नेटवर्क बनाउने घोषणा गरेका छन्।

समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेसनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको ओलीको भनाइ छ। 

एमालेले हालै सम्पन्न गरेको राष्ट्रिय महिला भेलामा महिलाहरूलाई मात्रै भोलेन्टियर्सको रूपमा परिचालन गरेको थियो। आइतबार पार्टी मुख्यालय च्यासलमा उनीहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै ओलीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेसनल नेटवर्क बनाउने बताएका हुन्। त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने ओलीको दाबी थियो।

‘हामी जानीबुझी सचेत ढंगले कुनै अलमलमा नपरी, दुविधा नभई अन्धविश्वासमा होइन, विश्वासमा र भ्रममा होइन, स्पष्टतामा यो लोक, यो देश सपार्नका लागि आफ्नो सेवा दिइरहेका छौँ,’ ओलीको भनाइ थियो, ‘विभिन्न संगठनहरूमार्फत खास गरी हाम्रो पार्टी नेकपा एमाले र यसका वरिपरि रहेको जनमतलाई हामीले विभिन ढंगले संगठित गरेर परिचालन गरिरहेका छौँ। र यसले समाज परिवर्तनका लागि सही विचारमा संगठित शक्तिलाई अगाडि बढाइरहेको छ। यस प्रसंगमा स्वाभाविक रुपमा स्वयंसेवा अत्यावश्यक हुन्छ। 

अध्यक्ष ओलीले एमालेले यसअघि नै पिपुल्स भोलेन्टियर्स, युथ फोर्सजस्ता संस्थाहरूलाई स्वयंसेवी संगठनको रूपमा परिचालन गरेको पनि स्मरण गरेका थिए।

ओलीको अभिव्यक्तिको पूर्ण पाठ-
‘हामी जानीबुझी सचेत ढंगले कुनै अलमलमा नपरी, दुविधा नभई अन्धविश्वासमा होइन, विश्वासमा र भ्रममा होइन, स्पष्टतामा यो लोक, यो देश सपार्नका लागि आफ्नो सेवा दिइरहेका छौँ।

विभिन्न संगठनहरूमार्फत खास गरी हाम्रो पार्टी नेकपा एमाले र यसका वरिपरि रहेको जनमतलाई हामीले विभिन ढंगले संगठित गरेर परिचालन गरिरहेका छौँ। र यसले समाज परिवर्तनका लागि सही विचारमा संगठित शक्तिलाई अगाडि बढाइरहेको छ।

यस प्रसंगमा स्वाभाविक रूपमा स्वयंसेवा अत्यावश्यक हुन्छ। ठूलो समुदाय भयो भने त्यहाँ जैविक क्रियाकलापहरू हुन्छन नै। ती जैविक क्रियाकलापहरूको व्यवस्थापन कसरी गर्ने, त्यस्तो अवस्थामा त्यसलाई समग्रतामा व्यवस्थित बनाउने कुरा स्वयंसेवाबाट मात्रै गर्न सकिन्छ।

गोलमाल हुन नदिन, अस्तव्यस्त हुन नदिन, यता जाने कि उता जाने भन्ने भ्रम हुन नदिन, सहभागिताको कार्ड कहाँ पाइन्छ भन्दा यहाँ, नाम कहाँ लेख्ने भन्दा यहाँ, भित्र पस्ने ढोका कुन हो भन्दा यो, बस्ने सिट कुन हो भन्दा यो, बाहिर निस्कने ठाउँ कुन हो भन्दा यो, कता फर्किएर बस्ने भन्दा यता, यी सबै कुरा व्यवस्थित गर्नका लागि स्वयं सेवा चाहिन्छ।

स्वयं सेवाबिना पनि ती चिजहरू गर्न सकिन्छ। तर हामीसँग पवित्र भावनाले बिनापारिश्रमिक आफ्ना कार्यहरू, आफ्ना कर्तव्यहरू सफल बनाउनुपर्छ भन्ने भावनाले उत्प्रेरित समुदाय छँदै छ भने हामीले भाडामा यसलाई एउटा व्यवसायको रूपमा चलाइरहनुपर्दैन।

त्यसकारण हाम्रो पार्टीमा जति पनि फङसनहरू छन्, ती आफ्नो ढंगले सञ्चालन गर्छौँ। कहिलेकहिले हामीले केही कुरामा मद्दत लिनुपर्ने हुन सक्छ। जस्तो खानेकुरामा क्याटरिङको मद्दत लिउँला। तर प्रायः भन्ने हो भने हामी हाम्रा कामहरू सबै भोलेटियरिली गरेका हुन्छौँ। त्यसरी हाम्रो पार्टीलाई साँच्चै परिपूर्ण, सम्पूर्ण व्यवस्थित पार्टीको रूपमा चलाएका छौँ।

यसै सन्दर्भमा उहाँहरूले महिलाहरूको राष्ट्रिय भेला महिलाहरूकै भोलेन्टियर्समा अत्यन्तै भव्यताका साथ सम्पन्न गर्नुभयो। यसले एउटा महिला सशक्तिकरणको पक्षमा, महिला सामाजिकीकरणको पक्षमा यो साधारण कुरा होइन पोलिटिकल पार्टीका लागि।

यदि यो धार्मिक संस्था भएको भए धर्ममा विश्वास गरेर कुद्छन् भन्ने हुन्थ्यो। यो त्यस्तो केही विश्वास, अन्धविश्वासमा होइन। यो स्पष्ट गन्तव्यमा पुग्ने ध्येयका साथ हाम्रा हरेक कार्यक्रमलाई अघि बढाउने सन्दर्भमा यसपटक तपाईँहरूले एउटा नयाँपन देखाउनुभएको छ महिला मात्रै भोलेन्टियर भएर।

विद्यार्थी महिलाहरू, युवा महिलाहरू, खेलाडी महिलाहरू, अखिल नेपाल महिला संघसँग आबद्ध महिलाहरू, महिलाकै नेतृत्वमा आफैँ कमान्डर भएर काम गर्नुभएको छ। समाजको हरेक क्षेत्रमा महिलाहरू उत्रन सक्नुहुन्छ र जुनसुकै काम पनि फत्ते गर्न सक्नुहुन्छ भन्ने कुरा यसले देखाउँछ।

यस सम्बन्धमा हामी अरू पनि सोचिराखेका छौँ कि पर्मानेन्ट खालको भोलेन्टियर्स संस्था त्यो तयार गर्ने र भोलेन्टियर भएपछि त्यसमा डेमोक्रेसी बुझ्नुहुँदैन। भोलेन्टियर भएपछि किन लाइनमा बस्ने भनेपछि लाइनमा नै बस्ने, अलिकति पर्तिर किन जान नपाउने, मेरो डेमोक्रेसी भनेर भोलेन्टियर हुँदैन।

भोलेन्टियर भनेपछि फेरि जंगी अनुशासन भन्ने त्यहाँ आउँछ। त्यसमा कडा अनुशासन पालन गर्नुपर्छ। त्यो अनुशासन जीवनका लागि अत्यन्तै महत्त्वपूर्ण छ। यो प्रकृति अनुशासनमा चल्छ। एउटा लयमा चल्छ। यो अनुशासन भन्ने चिजले लय सिकाउने हो। हामी यो लयलाई हाम्रो समाज परिवर्तनको प्रयासमा अघि लैजान चाहन्छौँ। त्यसका लागि हाम्रा सचेत प्रयासहरू आवश्यक छ। यी सचेत प्रयासका सन्दर्भमा हामीले अनेक कामहरू भोलेन्टियरली गर्नुपर्नेछ।

म तपाईँहरूको प्रशंसा गर्न चाहन्छु। तपाईँहरूलाई सम्मान गर्न चाहन्छु। तपाईँहरूले भोलेन्टियरको ढंगले उत्कृष्ट काम गर्नुभएको छ। स्पेसल्ली महिला छोरीहरूले, बहिनीहरूले गर्नुभएको होला। तपाईँलाई प्रशंसा गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। तपाईँहरूको काम अत्यन्तै उत्कृष्ट छन्। पार्टीमा पनि महिला भोलेन्टियर्स समेतको नेसनल नेटवर्क बनाउने बारेमा पनि सोच्दैछौँ। र यो पुरुषको पनि बन्छ, महिलाहरूको पनि बन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .