नेकपा एकीकृत समाजवादीको जारी १० औं महाधिवेशनमा चुनावी प्रक्रिया सुरु भएको छ। राजधानीको प्रज्ञाप्रतिष्ठानमा असार १६ गतेदेखि सुरू भएको महाधिवेशन आज सकिने समयसीमा थियो।
तर, सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने पार्टी नेतृत्वको प्रयासका कारण ढिलो गरि निर्वाचन प्रक्रिया सुरू गरेको हो।
एकीकृत समाजवादीको निर्वाचन आयोग प्रमुख माधव पौडेले विद्युतीय मेसिनबाट मतदान गर्ने बताउँदै त्यसका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन भएको जानकारी नेपालखबरलाई दिए।
अहिले मतदाता नामावली सच्याउने र मतदाताको तस्बिर स्क्यान गरेर मेसिनमा राख्ने काम भइरहेको जानकारी उनले दिए। ‘मतदाता नामावली प्रकाशन गरेर, त्यसमा सच्याउने समय दिएर, अहिले गलत भएको कुरा सच्याउने काममा लागिरहेका छौं,’ पौडेलले भने।
आजै अन्तिम नामावली प्रकाशन गर्न लागेको जानकारी दिएका उनले मतदान भने भोलि मात्रै हुने बताए। ‘भोटिङ भोलि हुन्छ,’ पौडेलले भने, ‘फाइनल लिस्ट आज कति बेला निकालिन्छ, अनि मात्रै त्यसबाट भोलि कतिबेला मतदान हुन्छ भन्ने थाहा हुन्छ।’
पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि ढिला गरि चुनावी प्रक्रिया सुरु भएको स्वीकार गरे। पार्टी अध्यक्ष माधव नेपाल सहमतिमै नेतृत्व चयनको प्रयासमा लागेकाले मतदानमा जान नपर्ने र महाधिवेशन आजै टुंगिने अवस्था पनि आउन सक्ने उनको भनाइ छ।
‘सहमतिको प्रयास भइरहेको छ,’ खतिवडाले भने, ‘अध्यक्ष कमरेड अहिले परामर्शमा व्यस्त हुनुहुन्छ।’
उनीहरूलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण पार्टीको निर्वाचन आयोगले यसअघि नै गरिसकेको छ।
Shares

प्रतिक्रिया